बागलुङ, १ माघ। जिल्लाको काठेखोला गाउँपालिकाले समुदायकै सकृयतामा जलचर संरक्षण गर्ने तयारी थालेको छ । समुदायको सकृयता र सहभागिता बिना कानून र कारवाहीले मात्रै जैबिक बिबिधता र जलचरको संरक्षण नहुने भएकाले संरक्षणमा समुदायको सहभागिता हुनेगरी कानून बनेको हो ।
गाउँपालिकाले १६ औं गाउँसभाबाट पारित गरेको ‘जलचर एवं जलीय जैविक बिबिधता संरक्षण ऐन’ले संरक्षणका लागि समुदायको सहभागिता हुने व्यवस्था गरेको हो । अवैधानिक रुपमा जलचरको उपयोगले जलचर लोप हुने खतरा बढेपछि गाउँपालिकाले जलचरको संरक्षण र उपयोग गर्ने कानून बनाएको हो । ऐन बनेसँगै गाउँपालिका भित्रका खोलानालामा रहेका जलचर तथा जलीय जैबिक बिबिधताको संरक्षणका लागि कार्यबिधि बन्ने गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बताए ।
उक्त नीति अनुसार विपन्न र बेरोजगार तथा परम्परागत रुपमा पेशा अङ्गालेका नागरिकलाई मात्र जलचरको उपयोग गर्न दिईने छ । माछा, गंगटा लगायतका जलचरहरुको प्रजननका समय र संकटको समयमा उपभोगमा रोक लगाउने बिषय नीतिमा उल्लेख छ ।
‘कानूनको कसी र कारवाहीले मात्रै संरक्षण सम्भव छैन्, त्यसैले हामिले खोला छेउका बस्तिहरुको सकृयता र सहभागिता हुनेगरी समुह मार्फत संरक्षणको नीति ल्याएका छौं,’ उपाध्यक्ष थापाले भने, ‘किन जोगाउने, नजोगाउँदा समुदायलाई कस्तो असर पर्छ भन्ने बुझाउनका लागि पनि उनिहरुकै सहभागिता आवश्य छ ।’
गाउँसभाले काठेखोला गाउँपालिकाका कर्मचारीहरुको व्यवस्थापन गर्न बनेको बिद्येयक सर्वसम्मत पारित गरेको छ । कर्मचारीको व्यवस्थापन, बृत्तिबिकासमा सहयोग पुर्याउन र काम गर्ने मनोवल बिकास गर्नेगरी ऐन बनेको हो । गाउँसभाले बिद्यालय व्यवस्थापक कार्यक्रम कार्यबिधि पनि पारित गरेको छ । सोमबार सम्पन्न गाउँसभामा अध्यक्ष राजु थापाले अर्धबार्षिक प्रगति पेश गरेका थिए ।खबरवेबाट साभार