बागलुङ, १ माघ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बाँदर नियन्त्रणको लागि सरकारले एक महिनाभित्र कानुन ल्याउन लागेको बताएका छन् ।
बागलुङको जैमिनी नगरपालिकामा संचालित माघेसंक्रान्ति मेलाको उद्घाटन गर्दै मन्त्री अधिकारीले बाँदरको कारण कृषिमा धेरै नोक्सानी भएको बताउँदै नियन्त्रणको लागि कानुन निर्माण भइरहेको बताए । उनले लुम्लेमा बाँदर धपाउनको लागि कृषकहरुले कर्मचारी राखेको थाहा पाउँदा अच्चम लागेको बताउँदै बाँदर नियन्त्रणको लागि सरकारी तथा विभिन्न संघसंस्थासँग सुझाव संकलन भइरहेको बताए ।
‘बन्यजन्तुको कारण कृषिमा धेरै नोक्सानी भएको छ । लुम्लेमा बाँदर धपाउन कर्मचारी राखेको थाहा पाउँदा अच्चम लाग्यो,’ मन्त्री अधिकारीले भने,‘विहान उठेबाट बेलुका सुत्नेबेलासम्म कृषि गर्ने हामीले बादर धपाउन कर्मचारी राख्नुपरेको छ । बाँदर नियन्त्रण गर्न कसरी सकिन्छ भनेर हामी लागि परेका छौं । महिना वा १५ दिनभित्र बाँदर नियन्त्रण गर्ने कानुन आउँदै छ ।’
मन्त्री अधिकारीले बाँझो जमिन व्यवस्थापन गर्न भुमि विभागको गठन गर्नुपर्ने बताए । उनले पछिल्लो समय बाँझो जमिन बढ्दो रहेको बताउँदै त्यसको व्यवस्थापन गर्न भुमि विभाग गठन गर्न सकिन्छकी भनेर अध्ययन भइरहेको बताए । उनले आयात गरेर मात्र खान सक्ने नेपालीको अवस्था नभएकोले सरकारले बाँझो जमिन व्यवस्थापनको लागि चासो देखाइरहेको बताए ।
मुलुक आर्थिक संकुचनमा रहेको कारण सरकार जुन तरिकाले सचालन गर्नुपर्ने थियो त्यो गर्न समस्या भएको बताए । नयाँ बजेट निर्माणमा कृषि क्षेत्रमा धेरै योजनाहरु राख्ने मन्त्री अधिकारीको भनाई छ । उनले कृषि कर्म गर्ने दाजुभाईहरुलाई सम्मान रहेको बताउँदै सरकारले सकरात्मक दृष्टिले सहयोग गर्ने बताए । खबरवेबाट साभार