बागलुङ, ८ माघ । बागलुङ नगरपालिकाले भोलि बालमैत्री शासनयुक्त नगर घोषणा गर्न लागिएको हो ।
नगरपालिकाको २०७९ जेठ ६ गतेको कार्यपालिकाको निर्णयपछि वडा र टोल सम्मका काम शुरु भएका थिए । यो अभियानमा नगरले दुइ सयबढी कार्यक्रम गरिसकेको छ ।
नगर भित्रका २ सय ४ वटै विद्यालयमा कुनैन कुनै संरचनात्मक सुधार भएको, ३२ वटा बिद्यालयको भवन नै बनेको, हरेक बालबालिकाले नियमित खोप पाएको, बालमेत्री स्थानीय शासन अबलम्बनकालागि अभिभावक, शिक्षक, सामाजिक व्यक्तित्व, पेशागत क्षेत्र समेतमा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको बागलुङ नगरपालिका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ जानकारी दिनुभयो।
यो अवधिमा बालमैत्री आचारसंहिता, बाल विवाह विरुद्दका सन्देश, निकृष्ठ बालश्रम बिरुद्धका नारा समेत लेखेर टोलटोलमा लगिएको थियो ।विद्यालयका प्रधानध्यापक , संचारकर्मी र टोल बिकास संस्थाका प्रतिनिधिलाई अभिमूखीकरण समेत गराइएको श्रेष्ठले जानकारी दिनुभयो ।
बालमैत्री शासन युक्त नगर बनाउनकैलागि नगरपालिकाले १५ वटा कानून समेत बनाएको जनाइएको छ । त्यस बाहेक पञ्चबर्षे रणनीतिक योजना निर्माण भएको, सचेतनामूलक कार्यक्रमहरु नियमित चलेको, दिगो पनाकालागि साधन र श्रोतको व्यवस्थापन गरिएको, सबै बिद्यालयमा बालमैत्री, छात्रछात्रा मैत्री शौचालय र खेलमैदान पनि निर्माण भएको समेत श्रेष्ठले जानकारी दिनुभयो ।
बालमैत्री शासन युक्त नगर घोषणा भएपछि नेपाल सरकारले नगरपालिकालाई हेर्ने दृष्टीकोण सकारात्मक बन्ने समेत श्रेष्ठको विश्वास छ ।
‘हामीले गण्डकी प्रदेशको चौथो र देशभरमा २५ औं पालिकाको रुपमा बालमैत्री शासन युक्त नगर घोषणा गर्दैछौं, यो घोषणाले सरकार र अन्तराष्ट्रिय जगतको पनि ध्यान केन्द्रीत हुनेछ’ श्रेष्ठले भने, ‘बिकास बजेटकालागि पनि वार्गेनिङ गर्ने शक्ती हामीले बटुलेका छौं ।’
कार्यक्रममा उहाँले नगरभित्र आधारभूत खानेपानीको व्यवस्थापन गरेको, केही स्थानमा पुरा नभएपनि मुहानलाई शुद्दिकरण गरिएको, नगर स्तरीय र वडा स्तरीय बाल उद्यानहरु बनेको, केही सहयोगीको साथमा थप व्यवस्थित बाल उद्यानका लागि झण्डै ३० लाखको सहयोग जुटेको र त्यो छिटै तयार हुने समेत जानकारी दिनुभयो ।
बिद्यालय वरपर लागूपदार्थ, धुम्रपान र जंगफुडहरु बेच्न निषेश गरेको, बिक्री गरेमा कारवाही गर्ने तथा निकृष्ठ बालश्रम वा जोखिममा रहेका बालबालिका भेटिएमा उद्दार गरेर नगरपालिकाले पढाउने लगायतका अन्य सहयोग गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
बालमैत्री नगर घोषणाकालागि नेपाल सरकारका उपप्रधान तथा सहरीबिकास मन्त्री प्रकाशमान सिंह बुधवार बागलुङ आउनुहुने छ । त्यो कार्यक्रममा १७ हजार बिद्यार्थी र अन्य गरी २५ हजार उपस्थित गराउने नगरको योजना छ । त्यसका लागि बुधबार दिनभर बागलुङ बजारको मुख्य राजमार्ग बाहेक अन्य क्षेत्रमा सार्वजनिक यातायात बन्द गर्ने, सार्वजनिक बिदा दिने समेत निर्णय भएको हो ।त्यसकालागि यातायात व्यवसायी, सुरक्षा निकाय र जनप्रतिनिधिको बैठक समेत बसेको थियो । धौलागिरि बहुखुखी क्याम्पसको प्राङगणमा हुने कार्यक्रममा नगरपालिकाले न्युनतम २५ हजार बोतल पानी र सोही संख्यामा अर्गानिक खाजाको समेत व्यवस्थापन गर्ने, स्वास्थ्य उपचार कक्ष समेत राख्ने र सुरक्षालाई चुस्त बनाउने तयारी समेत गरिरहेको छ । त्यसमा सुरक्षा निकाय, स्वास्थ्यकर्मी समेतले साथ दिएका छन् ।