बागलुङ , २८ माघ । सहकारीको बचत रकम अपचलनको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले आइतबार सार्वजनिक स्थानमा भाषण गरेको पाईएको छ । कानुनत थुनुवालाई सार्वजनिक स्थानमा भाषण, मन्तव्य वा सम्बोधन गर्ने सुविधा हुँदैन ।
तर कानुनको पालना गराउने प्रहरीकै भिआइपी सुरक्षा घेरा भित्र थुनुवा नेपालीलाई भाषण गर्ने व्यवस्था मिलाइएको थियो । इमेज बचत तथा ऋण सहकारी संस्थाका सयौँ बचतकर्ताको रकम फिर्ताका लागि मेलमिलाप गर्न जिल्ला सरकारी वकिल कार्यालय बागलुङले थुनामा रहेका नेपालीलाई उपस्थित गराउन कारागारलाई पत्र पठाएको थियो ।
सोही अनुसार कारागार प्रशासनले मेयर नेपालीलाई सुरक्षाकर्मीका साथ जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको थियो । बाक्लो सुरक्षा व्यवस्थाका साथ सरकारी वकिलको कार्यालय पुगेका नेपालीले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलकै अगाडी उभिएर भाषण गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । मेयर नेपालीले भाषण गर्दासम्म प्रहरी उपरीक्षक कँडेल छेउमै व्यक्तिगत सुरक्षा गार्ड झैँ उभिनु भएको थियो ।
थुनुवालाई सार्वजनिक रुपमा भाषण गर्न किन दिएको भन्ने प्रश्न गर्दा प्रहरी उपरीक्षक कंडेलले आफ्नो काम नेपालीलाई सुरक्षा दिने भएको र सोही अनुसार सुरक्षा प्रदान गरेको बताउनुभयो । उहाँले नेपालीले भाषण गरेको विषयमा आफ्नो कुनै पनि धारणा नभएको गैर जिम्मेवारीपूर्ण जवाफ दिनुभयो ।
सरकारी वकिलको कार्यालयले गरेको पत्र अनुसार नेपालीलाई प्रहरीको सुरक्षा जिम्मा लगाएर पठाएको तर, उनी कहाँ गएर के बोले ?, के के गतिविधी गरे ? भन्ने विषयमा आफुलाई जानकारी नभएको जिल्ला कारागार बागलुङका कारागार प्रशासक धिरेन्द्र पन्तले बताउनु भयो । उहाँले सरकारी वकिलको कार्यालय भित्र भएको गतिविधीको बारेमा कुनै जानकारी नभएको र तोकिएकै समयमा नेपाली कारागार सुरक्षित कारागार फिर्ता आएको बताउनुभयो ।
नेपालीलाई बचतकर्तासँग मेल मिलापका लागि कारगारबाट अनुमति लिएर सरकारी वकिल कार्यालयमा उपस्थित गराएको र काम सकिएपछि सुरक्षाकर्मीको जिम्मा लगाएर पठाएको सहायक न्यायधिवक्ता अर्जुन शर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘यहाँको हाकिम साप नहुँदा म एकदुई दिनको लागि खटिएर आएको थिएँ, देवकुमार नेपालीलाई जुन प्रयोजनका लागि अफिसबाट चिठी काटेर बोलाइएको थियो, उहाँलाई डकुमेन्टमा सहीछाप गराएपछि फिर्ताको चिठी लेखेर पठाएको थिएँ, बाहिर गएर के बोल्नु भयो जानकारी भएन, म आफ्नै काममा व्यस्त थिएँ ।”
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले सुरक्षकर्मीको भूमिका कारगारबाट सम्बन्धित ठाउँमा पु¥याउने र काम सकिएपछि सरासर कारागार पठाउने भएको बताउनुभयो । थुनुवालाई सार्वजनिक ठाउँमा भाषण गर्ने सुविधा नभएको उहाँको भनाइ छ ।
प्रजिअ सुवेदीले भन्नुभयो – ‘मन्तव्य राख्ने नगर्नु पथ्र्यो, स्वभनीय देखिएन, सुरक्षाकर्मीको भूमिका कारागारबाट सम्बन्धित ठाउँमा ल्याउने र काम सकिएपछि सरासर फिर्ता पठाउने हो, त्यो बाहेक अरु केही भएको भए त्यो नमिल्ने काम भयो, त्यस्तो गर्न मिल्दैन ।”
वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठले थुनामा रहेको व्यक्तिले सयौँ नागरिकको माझमा भाषण गर्ने अधिकार नभएको बताउनुभयो । यसरी भाषण गरिनु कानुनको अवज्ञा भएको उहाँको भनाइ छ । थुनामा पठाउने भनेको विभिन्न अधिकारबाट वञ्चित गर्नु भएको हुँदा यहाँ प्रहरीको भूमिकामा शंका देखिएको वरिष्ठ अधिवक्ता श्रेष्ठको भनाइ छ । थुनामा राखेको व्यक्तिलाई जे प्रयोजनका लागि कारगारबाट निकालिन्छ त्यही मात्र काम गर्नु पर्ने कानुनी व्यवस्था रहेको उहाँको भनाइ छ । आदर्श सञ्चार














