नेपाल सरकारका पूर्व शिक्षामन्त्री तथा प्रतिनिधीसभाका साँसद देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामति कर्मचारी सरहको सेवा सुविधा उपलव्ध गराउनुपर्ने बताउनुभएको छ ।
शिक्षकलाई पनि निजामति कर्मचारी सरहको सेवा सुविधा उपलव्ध गराउन सकेमा मात्र शिक्षाको गुणस्तर बृद्धि हुने उहाँको भनाई थियो । उहाँले बर्तमान शैक्षिक प्रणालीमा आमुल परिवर्तनको आवश्यकता रहेको बताउनुभयो ।
बागलुङ नगरपालिका वडा नम्वर ४ ओढारचौर स्थित देउराली प्राविको ४ कोठे भवनको उद्घाटन गर्दै उहाँले जवसम्म शिक्षक सन्तुष्ट हुदैनन् तवसम्म शैक्षिक क्षेत्रमा परिवर्तन नसक्ने भएकाले उनिहरुको सेवा सुविधालाई समय सापेक्ष गराउनुपर्ने बताउनुभयो ।
५० लाख लागतमा निर्मित भवनको शिलालेख समेत अनावरण गर्दै पौडेलले ज्ञान प्राप्त गर्ने पवित्र ठाउँ बिद्यालय भएकाले बिद्यालयको भौतिक संरचना पनि आकर्षक हुनुपर्नेमा जोड दिदै यसको लागि सवै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का, बानपा ४ का वडा अध्यक्ष कुमार बिक्रम क्षेत्री, पूर्व वडा अध्यक्ष धुर्व केसी, बागलुङ नगरपालिका शिक्षा शाखा अधिकृत पुरनबहादुर घर्ती, नेपाल पत्रकार महासंघका सचिव नारायण रिजाल र निवृत पूर्व प्रधानाध्यापक रामबहादुर केसीले मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा निवृत पूर्व प्रधानाध्यापक रामबहादुर केसी लगाएत बिद्यालयलाई आर्थिक, भौतिक रुपमा सहयोग गर्ने सहयोगदातालाई सम्मान गरिएको थियो । बिद्यालयका प्रधानाध्यापक लक्ष्मी अर्याल आचार्यले प्रगतिप्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुकुमारी शर्माको अध्यक्षता, शिक्षक उमाकान्त शर्माको स्वागत र स्थानियवासी एवँ उपप्राध्यापक प्रकाश शर्माको संचालनमा सम्पन्न भएको थियो ।











