बागलुङ , १७ फागुन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बागलुङले विकासको नाममा सभ्यता र संस्कृति माथिको आक्रमण अस्वीकार्य रहेको बताएको छ ।
शनिबार बागलुङमा पत्रकार भेटघाटको कार्यक्रम गर्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बागलुङका अध्यक्ष बोमबहादुर गुरुङले ताप्लेजुङमा निर्माण गर्न लागिएको पाथीभरा केबलकार त्यहाँको मुन्धुमी संस्कृति र सभ्यतामाथिको ठाडो आक्रमण भएको भन्दै केबलकार निर्माण प्रक्रिया तत्काल राक्न माग गरे ।
विकासको नाममा किराँत संस्कृतिको परम्परा माथी हस्तक्षेप भएको बताउदै केवलकारको नाममा धावा बोलिएको र विकासको नाउँमा बिनास गर्न लागिएको उनको भनाई छ । ‘हामीले विकासको विरोध गरेका होईनौं तर विकास पनि किन आदिवासी जनजाति भूमिपुत्रहरुको आस्था र संस्कृतिमाथि धावा बोल्नेगरी गर्न खोजिन्छ भन्ने मात्रै हाम्रो प्रश्न हो,’उनले भने,‘राष्ट्रिय जनावर गाई काटेको आरोपमा कैयौं मानिस जेलमा छन् तर राष्ट्रिय फूल लालीगुराँसको लाखौं बोट काटेर कुनै एउटा व्यापारीले आफ्नो व्यापारीक स्वार्थमा लाग्दा चाँही राज्यको सबै निकाय लागेर उसैको पक्षपोषण गर्ने कुन तहको न्याय हो ?’
किराँत सभ्यताको ऐतिहासिक मुन्धुमीस्थल मुकुमलुङमा त्यहाँको स्थानीय नागरिकको सहमति बेगर जबरजस्ती बनाउन लागिएको केबलकार निर्माण तत्काल रोकिनुपर्ने उनले बताए । ‘राज्यले आन्दोलनकारीसंग वार्ता पनि गरे जस्तो गर्ने र नो केबलकार पक्षधरलाई घर घरमै कुटपिट गर्ने र झुटा मुद्दा लगाउने काममा लागेको छ,’उनले भने,‘यसले विद्रोहको सिर्जना गर्छ । संस्कृति, प्रकृति र सभ्यतामाथि जबरजस्ती गरिए आन्दोलनको आँधी बेहरी आउनसक्छ । त्यसतर्फ सचेत रहन सबै पक्षलाई आह्वान गर्न चाहान्छौं ।’
विभिन्न बहानामा राज्य झन् झन् पश्चगामी हुँदै जान खोजेको उनको आरोप छ । ‘विभिन्न समयका आन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्ने भन्दा राज्य झन् झन् पश्चगामी हुँदै जान खोजेको देखिन्छ,’उनले भने,‘यो या त्यो बहानामा जनजाति संस्कृति र सभ्यता नास गर्ने र मूलबासी समुदायले उपभोग गर्दै आएका अधिकारहरु पनि खोस्ने कार्यमा राज्य उद्यत देखिन्छ । यसले विद्रोह सिर्जना गर्छ ।’ राज्यसत्ता नश्लीय रुपमा अगाडि बढ्न खोजेको उनले आरोप समेत लगाए ।