बागलुङ, २ बैशाख । बागलुङ सेवा समाज दोहा कतारले एक करोड स्थापना गर्ने भएको छ ।
समाजको अगुवाईमा ‘कतार बहुद्देश्यीय अक्षयकोष’ स्थापना गर्न लागिएको समाजका संरक्षक होमनाथ शर्माले बताउनुभयो ।
उहाँका अनुसार न्यूनतम १ करोड रुपैयाँको कोषमार्फत दैवीप्रकोप उद्धार, सीपमूलक तालिम पर्यटन प्रवद्र्धन, प्रवासीको तथ्यांक संकलन, सम्मान र पुरस्कार प्रदान तथा रचनात्मक काम गर्ने लक्ष्य राखिएको छ । कोषमार्फत वैदेशिक रोजगारमा गएर फर्केका युवाले गाउँमा उद्यम सञ्चालन गर्न खोजेमा सहयोग गर्ने योजना रहेको शर्माले भन्नुभयो ।
औपचारिक घोषणा अप्रिल १८ अर्थात् आगामी शुक्रबार मात्र गरिने भए पनि अहिलेसम्म ५० लाख संकलन भइसकेको उहाँको भनाई छ ।
सन् २००५ मा स्थापना भएको समाजले कोषको आवश्यकता देखेपछि गत महिनादेखि यो अभियान शुरु भइसकेको थियो । औपचारिक कार्यक्रममार्फत शुक्रबारै एक करोड पु¥याउने लक्ष्य राखिएको हो । कोषमा कतारमा काम गरिरहेका स्थानीय श्रमिकले योगदान गर्नेछन् ।
‘विशेषगरी दैवीप्रकोपका घटनामा तत्काल उद्धार र राहत दिन सकियोस् भनेर कोष स्थापना भएको हो,’ कोषका सदस्य भरत पौडेलले भन्नुभयो, ‘जिल्ला प्रशासनमा दर्तासहित प्रशासनकै अनुमतिमा सहयोग समेत प्रदान गरिनेछ ।’ विदेशमा काम गर्दा अप्ठ्यारोमा परेका युवालाई उद्धार गरेर ल्याउने काममा समाजले पहल गरेको छ । उनीहरुलाई समेत सहयोग गर्नुपरेमा कोषको रकम खर्च गरिने छ ।
बागलुङदेखि कतारमा गएर काम गरेका श्रमिकको तथ्यांक संकलन गर्ने योजना पनि समितिको छ । ‘जनहितकारी काम सँगै कोषले मानवीय सेवा र प्रवासीका लागि आवश्यक जानकारीमूलक बुलेटिन पनि प्रकाशन गर्ने लक्ष्य राखिएको छ ।