बागलुुङ , २४ असोज । बागलुङमा ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाजको आयोजनामा बागलुङमा यही असोज २९ देखि कात्तिक १ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो ।
पालिकास्तरीय उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज पत्रकार सम्मेलनमार्फत समाजका सचिव एवं खेल संयोजक राजु थापाले जानकारी दिए ।
थापाका अनुसार प्रतियोगितामा जिल्लाका दस स्थानीय तहका भलिबल टिमले सहभागिता हुने छ । प्रतियोगिताको विजेताले ट्रफी र मेडलसहित रु. दुई लाख, उपविजेताले रु. एक लाख, तेस्रो स्थान हासिल गर्ने टिमले रु. ५० हजार र सान्त्वना हुने टिमले रु. २५ हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु. दस हजार, उत्कृष्ट टिम प्रशिक्षकलाई रु. पाँच हजार र अन्य विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई रु. पाँच हजार प्रदान गरिने समाजका सचिव थापाले जानकारी दिए । ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए । खेल ‘लिग कम नआउट’ आधारमा सञ्चालन हुने प्रतियोगिताको व्यवस्थापक जिल्ला भलिबल संघका सचिव किशोर थापाले जानकारी दिए ।
दस टिमको सहभागिता रहने उक्त प्रतियोगितामा रु. १२ लाख खर्च हुने अनुमान गरिएको छ । हरेक टिमलाई रु. २५ हजारका दरले खेलाडी भत्ता उपलब्ध गराइने भएको छ । टिम दर्ता निःशुल्क गरिएको छ ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भलिबल प्रतियोगिताले जिल्लाको गौरव थप बढाउने बताए । खेलकुद क्षेत्रको प्रवद्र्धन र खेलाडी उत्पादनका दृष्टिले यस प्रतियोगिता सहयोगी बन्ने उनले विश्वास गरे ।
सम्बन्धित स्थानीय तहभित्रको नागरिकता भएको खेलाडीले मात्र प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको छ ।
जिल्ला भलिबल संघको व्यवस्थापन, खेलकुद विकास समिति, बागलुङ नगरपालिका र बागलुङ नगरपालिका ४ नं. वडा कार्यालयको समन्वयमा प्रतियोगिता सञ्चालन हुन लागेको होभने उक्त प्रतियोगिता बागलुङ नगरपालिका–४ दाबगरा (बसपार्क)मा हुने छ ।














