बागलुङ, २४ माघ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी बागलुङका २९ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं जिल्ला सुरक्षा समितिका सदस्य प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार कुल एक सय सात मतदानस्थलमध्ये २५ संवेदनशील र ५३ मतदानस्थललाई सामान्य सूचीमा राखिएको हो । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा गरी एक सय सात मतदानस्थल र दुई सय ३० मतदान केन्द्र रहेका छन् ।
अतिसंवेदनशील र संवेदनशील मतदानस्थलको अवलोकन गरी सुरक्षा रणनीति बनाइएको प्रहरी उपरीक्षक भारतीले बताए । सुरक्षा संवेदनशिलता, विकटता, मुख्य सडकको पहुँचको पूर्वाधार र यस अघिका घटना र प्रतिस्प्रर्धालाई विश्लेषण गरी अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थललाई वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
निर्वाचन सुरक्षार्थ जिल्लामा छ सय ३७ प्रहरी र १२ सय ९८ जना निर्वाचन प्रहरी परिचालन गरिने भएको छ । दोस्रो तहको सुरक्षा घेरामा शसत्र प्रहरी बल र बाहिरी तहको सुरक्षा घेरामा नेपाली सेना रहनेछ ।













