बागलुङ ३० भदाै । बागलुङ नगरपालिका–३ का वडाध्यक्ष सनी केसीले वडाध्यक्षले राजिनामा फिर्ता लिएका छन् । जेन्जी आन्दोलनका क्रममा सरकारले गरेको दमनको विरोध गर्दै सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका थिए ।
जेन्जी आन्दोेलनलाई समर्थन गर्दै केही दिनअघि उनले वडाध्यक्ष र नेपाली काँग्रेस निकट तरुण दलको पदीय जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका थिए । वडाध्यक्ष केसीले जेन्जी आन्दोलन सफल भएसँगै आफ्नो राजीनामा फिर्ता लिएको बताए ।
सामाजिक सञ्जालबाट घोषणा गरेपनि उनले आधिकारिक रुपमा राजीनामा पत्र भने बुझाएका थिएनन् । “जेन्जी आन्दोलनलाई समर्थन गरेको थिएँ, अहिले आन्दोलन सफल पनि भएको छ”, वडाध्यक्ष केसीले भने, “पुरानै सरकार रहिरहेका भए मैले राजीनामा फिर्ता लिने थिइँन, जेन्जीकै माग अनुसार नयाँ सरकार बनेको छ, मैले पनि अब बाँकी डेढ वर्ष वडाध्यक्षका रुपमा जनताको सेवा गर्छु ।”
उनले वडाध्यक्षमा जनताले दिएको मत र जिम्मेवारीलाई आत्मसात गरेर राजीनामाबाट पछाडि हटेको बताए । वडाध्यक्ष केसीले तरुण दलको क्षेत्रीय सभापतिबाट राजीनामा दिएपनि काँग्रेसको साधारण सदस्य भने रहिरहने बताए ।