बागलुङ , १ असोज । बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालन ल्याइएको छ ।
दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालनमा ल्याइएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बागलुङले मंगलबारदेखि सस्तो पसल संचालनमा ल्याएको साल्ट ट्रेडिङ कार्यालयका प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यलयले हरेक वर्ष नागरिकलाई सहुलियतका लागि सुपथ मुल्य पसल संचालनमा ल्याउने गरेको छ । बानपा –४ उपल्लाचौरमा रहेको पसलबाट ग्राहकले सुपथ मुल्यमा नुन, चिनी र तेल खरिद गर्न सक्ने प्रमुख श्रेष्ठले बताउनुभयो ।
उक्त पसलबाट चिनी प्रतिकिलो ९५ रुपैयाँ, नुन प्रतिकिलो २४ रुपैयाँ र शुद्ध तोरीको तेल प्रतिलिटर तीन सय ५५ रुपैयाँमा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रतिव्यक्ति अधिकतम ६ किलो चिनी, ५ किलो नुन र ५ लिटर तेल किन्न पाइने प्रमुख श्रेष्ठले बताए । उनका अनुसार बजार मुल्य भन्दा चिनी प्रतिकिलो रु. १० नुनमा रु.२ र शुद्ध तोरीको तेलमा प्रतिलिटर रु. ७० छुटको व्यवस्था रहेको छ ।
सुपथ मुल्य पसल कात्तिक १० गते सम्म बिहान १० बजेदेखि दिउँसो ४ः३० बजे सम्म सञ्चालन हुने छ भने सार्वजनिक बिदाको दिन बन्द रहने छ ।