बागलुङ । स्वास्थ्य कार्यालय बागलुङद्वारा पोलियो रोग रोकथामको लागि आई.पी.भी खोप अभियान तयारी तीब्र पारिएको हो । बागलुङमा यहि जेठ १३ गतेदेखि पोलियो रोग विरुद्धको आई।पी।भी (ईनएक्टिभेटेड पोलियो भाइरस) खोप अभियान सञ्चालन गरिने भएको छ ।
सोमबार भएको जिल्ला खोप समन्वय समिति एवं सरोकारवाला र सचारकर्मीहरुको अभिमूखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङले यही जेठ १३ गतेदेखि २६ गतेसम्म खोप सञ्चालन गर्ने बताएको छ ।
जिल्लामा ३३( खोप केन्द्र सञ्चालन गरिनेछ । खोप केन्द्रमा ३३९ जना स्वास्थ्यकर्मी र ६८९ जना स्वयंसेवक खटिने कार्यालय प्रमुख बाबुराम आचार्यले बताए । बालबालिकालाई पोलियो रोग लाग्नबाट बचाउनको लागि खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख आचार्यले बताए ।
खोप अभावका कारण वि.स २०७३ वैशाख देखि वि.स २०७५ असोजसम्म जन्मिएका बालबालिकाले खोप नपाएको हुँदा यस पटक जिल्लाका दश वटै स्थानीय तहमा खोप केन्द्र सञ्चालन गरि बालबालिकालाई खोप लगाइनेछ भने ६ देखि १० बर्षसम्मका ११ हजार ७७१ जना बालबालिकालाई खोप लगाइनेछ ।
प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले सुगमदेखि दूरदराजसम्मका बालबालिकालाई नछुटाई खोप लगाउनु पर्नेमा जोड दिए । बागलुङको पश्चिम क्षेत्रका बालबालिका माथिल्लो क्षेत्रमा बस्ने हुँदा उनीहरुलाई जसरी पनि समेट्नु पर्ने सुवेदीले बताए । धेरै जसो बालबालिका विद्यालयमा भेटिने हुँदा त्यसलाई बढी प्राथमिकता दिनु पर्ने भन्दै विद्यालय बाहिर रहेकाहरुलाई पनि खोपको पहुँचमा ल्याउनु पर्ने सुवेदीकोे भनाई छ ।
स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले कार्यक्रमको बारेमा सहजीकरण थिए भने जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम जिल्ला समन्वय समित बागलुङका प्रमुख अमर बहादुर थापाको अध्यक्षता र कुष्ठरोग निरीक्षक देवप्रकाश घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।










