बागलुङ, १७ भदौ । जिल्ला हाल डेंगु सङ्क्रमणको तीव्र चपेटामा परेसँगै यस क्षेत्रमा डेंगुको ‘हटस्पट’ बनेको छ । देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी संक्रमण भएको बागलुङ जिल्लामा अहिले ‘हटस्पट’ बनेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागको महामारी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार बागलुङ डेंगु संक्रमितको संख्याका आधारमा देशमै पहिलो स्थानमा पुगेको प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो ।
देशभरका ७५३ स्थानीय तहमा पनि बागलुङ नगरपालिका डेङ्गु संक्रमणमा पहिलो स्थानमा देखिएको छ ।
साउनयता जिल्लाका नगरपालिका तथा गाउँपालिकामा हालसम्म एक हजार एघार जनामा डेंगु संक्रमण पुष्टि भएको प्रमुख शर्माले जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा धेरै बागलुङ नगरपालिकामा ६ यस ८४ जनामा संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
काठेखोला गाउँपालिकामा ७८, गलकोट नगरपालिकामा ६६, जैमिनी नगरपालिकामा ५३, ढोरपाटन नगरपालिकामा २८, निसीखोला गाउँपालिकामा १४, बडीगाड गाउँपालिकामा ८, ताराखोला गाउँपालिकामा ४ र तमानखोला गाउँपालिकामा ४ जनामा डेंगु संक्रमण देखिएको हो ।
धौलागिरि प्रादेशिक अस्पताल, बुर्तिबाङ अस्पताल, गलकोट नगर अस्पताल, कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र र हुग्दिशिर स्वास्थ्य चौकीसहित विभिन्न स्वास्थ्य संस्थाका प्रयोगशालामा गरिएको परीक्षणबाट एक हजार एघार जनामा संक्रमण पुष्टि भएको प्रमुख शर्माले बताउनुभयो ।
उहाँले डेङ्गु नियन्त्रणका लागि जनस्वाथ्य कार्यालयले पालिकासँग समन्वय गरी खोज र नष्ट गर अभियानलाई निरन्तर संचालन गरिरहेको बताउनुभयो । उहाँका अनुसार सामुदायिक विद्यालयहरुमा डेङ्गु सम्वन्धी सचेतनमूलक कार्यक्रम संचालन भैरहेको छ भने निजी विद्यालयहरुमा पनि विद्यार्थी लक्षित सचेतना कार्यक्रम अघि बढाइएको छ ।
शर्माले समुदायका नागरिक स्वयं सक्रिय भएर हरेक हप्ता खोज र नष्ट गर अभियानमा सहभागी नभए सम्म डेङ्गु नियन्त्रण प्रभावकारी नहुने बताउनुभयो । उहाँले वर्षायाम जारी पहेकाले लामखुट्टेको प्रजनन बढ्ने सम्भावना रहको र डेङ्गु संक्रमितको संख्या असोज, कात्तिकसम्म बढ्न सक्ने भएकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो ।
धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले दैनिक ३० देखि ३५ जना सम्ममा डेङ्गुको संक्रमण देखिएको र अहिले सम्म बिरामीमा कुनै पनि जटिल समस्या नदेखिएको बताउनुभयो । उहाँका अनुसार सामान्य लक्षण भएका संक्रमितलाई औषधिसहित फलोअपमा राखिएको छ भने जटिल अवस्था भएका बिरामीलाई अस्पतालमै भर्ना गरेर उपचार गरिएको छ। डेंगु भाइरल रोग भएकाले ज्वरो, टाउको तथा शरीर दुख्ने, आँखाको पछाडि दुख्ने, वाकवाकी लाग्ने लगायतका लक्षण देखिएमा परीक्षण गराई चिकित्सकको परामर्श लिन डा. तिवारीले आग्रह गर्नुभयो ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले पानी जम्न नदिने, पानी राख्ने भाँडा छोपेर राख्ने, लामखुट्टेले अण्डा पार्न सक्ने स्थानको खोजी गरी लार्भा नष्ट गर्ने, नियमित सरसफाइ गर्ने, शरीर ढाकिने कपडा लगाउने र घरभित्र लामखुट्टे प्रवेश गर्न नदिने उपाय अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।










