काठमाडौँ ।पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अन्तर्गत आफ्नो अधिकार प्रयोग गर्दै कार्कीलाई शुक्रवार साँझ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराए। शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू तथा विभिन्न देशका राजदूतहरू सहभागी थिए। तर सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र पूर्वप्रधानमन्त्रीहरू भने अनुपस्थित रहे।
शपथपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै भने,
“तपाईँ सफल हुनुहोस्, देश सफल होस्। देश बचाउनुस्।”
कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्। उनी जेन–जी पुस्ताको आह्वानमा भएको दुई दिने आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेपछि सत्तामा आएकी हुन्।
नवनियुक्त प्रधानमन्त्रीले सिंहदरबार पुगेर पदभार सम्हाल्ने कार्यक्रम रहेको छ। उनलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी दिइएको छ।