बागलुङ पुस, १२ । बागलुङको रामरेखा आधारभूत विद्यालयमा शारिरिक अपाङ्गता भएका बालबालिकालाई निःशुल्क आवासीय सुविधा सहितको शिक्षा दिन सुरु गरिएको छ । शारिरिक अपाङ्गता भएका धेरै बालबालिकाहरु आर्थिक अभावमा समाज तथा परिवारबाट अपहेलित भई बस्नु परेको अवस्थामा बालबालिकालाई सहज रुपमा शिक्षा प्रदान गर्नका लागि आवासीय सुविधा सहितको कक्षा सञ्चालन गर्न सुरु गरिएको हो ।
विद्यालयमा अध्ययन गर्ने शारिरिक अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधा दिनका लागि अपाङ्गताका क्षेत्रमा काम गर्ने प्लान नेपाल र गाजा डेभलपमेन्ट फाउण्डेसनले करिव ८० लाख रुपियाँको लागतमा सुविधा सम्पन्न भवन निर्माण गरिएको थियो । नवनिर्मित भवनको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले ४० जना क्षमताको भवन निर्माण भएकाले बागलुङ नगरपालिकाले त्यहाँ आवश्यक जनशक्तिको व्यवस्थापन गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।
आवासीय सुविधाका लागि शारिरिक अपाङ्गता भएका बालबालिकाहरुलाई रेखदेख गर्नका लागि एक जना कर्मचारी पठाउँने यसअगाडिनै निर्णय भइसकेकाले पछि विद्यालय व्यवस्थापनले एकजनाले सबै भ्याउँन कठिन हुने बताएपछि पुनः एक जना कर्मचारी खटाइने पौडेलले बताउनुभयो ।
गत बैशाखमै भवन निर्माण सम्पन्न भएपनि अपाङ्गता भएका बालबालिकाको रेखदेख गर्ने कर्मचारीको व्यवस्था नहुँदा सञ्चालनमा आउँन सकेको थिएन । अपाङ्गता भएका तथा अपाङ्ग सबै बालबालिकालाई एकै ठाउँमा राखेर अध्ययन गराउँने विद्यालयमा अहिले एक सय ५० विद्यार्थी मध्य १० जना अपाङ्गता भएका बालबालिका रहेको विद्यालयका प्रधानाध्यापक धनकुमारी पराजुलीले जानकारी दिनुभयो । कक्षा आठसम्मको पढाई हुने उक्त विद्यालयमा कक्षा एकदेखिनै अंग्रेजी माध्यममा र कक्षा चारदेखि कम्प्युटर माध्यमबाट पढाई हुँदै आइरहेको छ ।
बागलुङमा बहिरा, सुस्तमनःस्थिति तथा नेत्रहिन विद्यार्थीहरुलाई पढाउँनेगरी विभिन्न विद्यालयहरु सञ्चालित रहेपनि शारिरिक अपाङ्गता भएका बालबालिकालाई पढाउँने विद्यालय नहुँदा धेरै शारिरिक अपाङ्गता भएका बालबालिका विद्यालयसम्म आउँन नसकेकाले यस विद्यालयमा सञ्चालित आवासीय कक्षाले उनीहरुलाई विद्यालयसम्म आउँन सहजता आउँने विद्यालयका सल्लाहकार केवी राना मगरले बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिका नगर शिक्षा अधिकारी ठाकुर जि तिवारीले सबैकालागि शिक्षा आवश्यक रहेकाले अपाङ्गता भएर विद्यालयसम्म आउँन नसक्ने बालबालिकाका लागि विद्यालयसम्म ल्याउन यस्ता अभियान सार्थक बन्ने बताउनुभयो । भवन निर्माण समितिका संयोजक दुर्गाबहादुर आचार्यले बागलुङमा सबै प्रकारका अपाङ्गता भएका बालबालिकाहरुलाई सहज शिक्षा प्रदान गर्न सक्ने व्यवस्था भएकोप्रति खुसी व्यक्त गर्दै सबैलाई सहज होस भन्ने उद्देश्यले छोटो समयमा सुविधासम्पन्न भवन निर्माण गर्न सकिएको बताउनुभयो ।
कार्यक्रममा प्लान नेपालका नितु आचार्य, अपाङ्गता सञ्जाल बागलुङका सचिव होमनाथ शर्मा, विद्यार्थी सुस्मिता किसान लगायतले बोल्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेशम गोतामेले गर्नुभएको थियो ।