
पोखरा, असोज २ गते । गण्डकी प्रदेशको प्रदेश सभा, प्रदेश मामिला समितिले गण्डकी प्रदेशका ११ वटै जिल्लाका कारागार निरीक्षण गर्न सुरु गरेको छ । कारागारको अवस्था, कारागारमा बस्दै आएका कैदीबन्दीको अवस्थालगायतको बारेमा बुझ्न समितिका पदाधिकारीले सबै जिल्लामा रहेका कारागारहरुको निरीक्षण गर्न सुरु गरिएको हो ।
समितिका सभापति कृष्ण थापाले कारगारमा रहेका कैदी बन्दीहरुको अवस्थाका बारेमा जानकारी लिन अनुगमन गरिएको बताउनुभयो । कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल थालिने थापाले बताउनुभयो । उहाँका अनुसार प्राय जिल्लाका कारागार भौतिक रुपमा जीर्ण भएकाले तत्काल मर्मत तथा पुनःनिर्माण गरिनुपर्ने अवस्था छ । जग्गा प्राप्त गरी नयाँ व्यवस्थित भवन बनाई बन्दिलाई फरक–फरक समूहमा विभाजन गरी राख्ने व्यवस्था गरिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
अनुगमन गरिएका कारागारहरुमा भौतिक संरचनाहरु जीर्ण रहेको क्षमता भन्दा बढी कैदी बन्दी रहेको शौचालय, खानेपानी, आवासको समस्या रहेकाले पूर्वाधार थप गर्नुपर्ने अवस्था रहेको अनुगमनमा सहभागी सदस्यहरुले बताएका छन् ।