गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका –३ पिपलधाराका युवा सहकारी नै गठन गरेर सामूहिक कृषि खेतीतर्फ लागेका छन् । उनीहरुले १० वर्षदेखि बाँझो जग्गा सदुपयोग गरी कृषि कार्य शुरु गरेका हुन् । बिरुवा हुर्किएर जंगल जस्तै बनेको पिपलधारा शुफ्लस्थित कुल २६० रोपनी जग्गामा अहिले झाडी सफा गर्ने काम भइरहेको छ । सुन्तला र कागती लगाउन खाडल तयार गर्ने, विभिन्न प्रजातिका बिरुवा लगाउने, भैँसी र बाख्रापालनका लागि खोर तयार गर्नेलगायत कार्य भएका छन् ।
पिपलधाराका युवाले सिकर्मी डकर्मी बहुउदेश्यीय सहकारी संस्था गठन गरी गाउँपालिकामा दर्ता गरेका छन् । उनीहरुले सहकारीमार्फत बाँझो जग्गा खनेर सुन्तला, कागती र मसलेदार खेती गर्ने तथा बाख्रा र भैँसी पाल्ने योजना बनाएका छन् । दुई सय ६० रोपनी जग्गालाई तीन भागमा वर्गीकरण गरिएको छ । सोमध्ये दुई सय रोपनीमा छ हजार कागती लगाउने, ३० रोपनी जग्गामा तरकारी र मसलेदार खेती तथा बाँकी ३० रोपनी जग्गामा ओखर खेती गर्ने योजना रहेको सहकारीका अध्यक्ष ज्ञानबहादुर विश्वकर्माले जानकारी दिनुभयो । केही रोपनी जग्गामा गोठ र खोर निर्माण गरी पाँच भैँसी र ६० बाख्रा व्यावसायिक रुपमा पाल्न शुरु गरिएको छ । आगामी दिनमा फार्ममा १० भैँसी र एक सय बाख्रा पु¥याउने लक्ष्य रहेको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
