बागलुङ, ८ असार । जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड ८८ लाख रुपियाँ बिनियोजन गरेको छ ।
नगरपालिकाको १९औँ नगरसभामा नगर उपप्रमुख हरिहर शर्माले बजेट प्रस्तुत गरेका हुन् भने नगरप्रमुख नरबहादुर पुनले नीति तथा कार्यक्रम पेश गरेका हुन्।
नगरपालिकाले आगामी वर्षको बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ।
सार्वजनिक भवन, सिँचाइलगायत पूर्वाधार विकासका लागि ११ करोड ८२ लाख ९१ हजार ४४२ रुपैयाँ विनियोजन गरिएको छ। ‘दिगो र वातावरणमैत्री पूर्वाधार, जैमिनी नगर समृद्धिको आधार’ भन्ने नारासहित नगरका १३ वटै दिगो सडकको स्तरोन्नति तथा बाह्रै महिना सञ्चालनयोग्य बनाउन प्रतिवटा सडकका लागि १० लाख रुपैयाँका दरले कुल १ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ।
संघीय सरकारको समपूरक अनुदानमा साझेदारी गर्दै कालीगण्डकी करिडोर अन्तर्गत कुस्मिसेरा–दमेक–बनहुँ–गाजादह–मध्यपहाडी लोकमार्ग सडकका लागि ७० लाख रुपैयाँ तथा प्रदेश समपूरक अनुदानमा साझेदारी गर्दै न्यार–ढिक–धुल्लु–बिहारथला सडकका लागि १ करोड २० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।
सामाजिक विकासतर्फ ५ करोड ६६ लाख ९३ हजार ५५८ रुपैयाँ विनियोजन गरिएको छ। शिक्षा क्षेत्रमा लिड विद्यालय, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा प्रधानाध्यापकलाई दिइँदै आएको प्रोत्साहनलाई निरन्तरता दिँदै १ करोड १३ लाख रुपैयाँ छुट्याइएको छ। उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ।
स्वास्थ्यतर्फ नगरपालिकाले स्थापना गरेको जैमिनी नागरिक स्वास्थ्य उपचार कोषलाई थप प्रभावकारी बनाउन ३० लाख रुपैयाँ विनियोजन गरेको छ। सबै वडामा ग्रामीण भिडियो एक्सरे सेवा सञ्चालन तथा पूर्ण संस्थागत प्रसूतिलाई दिगो बनाउने नीति लिइएको छ।
आर्थिक विकासतर्फ १ करोड ८८ लाख २५ हजार रुपैयाँ विनियोजन गर्दै ‘जैमिनीको सान, परिचययुक्त किसान’, निःशुल्क नश्ल सुधार तथा दुग्ध उत्पादन कार्यक्रम, ‘हरेक खेतमा सिँचाइ, हरेक किसानमा समृद्धि’ र किसानका लागि निःशुल्क कल सेवा सञ्चालन गरिने भएको छ। चर्चित ‘सेरा जाऔँ, केरा खाऔँ’ कार्यक्रमलाई निरन्तरता दिँदै १२ लाख रुपैयाँ विनियोजन गरिएको छ।
नगरपालिकाले आगामी वर्ष ‘गाउँ फर्कौँ, आफ्नै गाउँ बनाऔँ’ भन्ने नीति अवलम्बन गरेको छ। वैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँमै उद्यम गर्न चाहने युवालाई घुम्ती कोषमार्फत स्वरोजगार तथा उद्यमशीलतामा जोड्ने लक्ष्य राखिएको छ। साथै ‘फर्किएका युवा गाउँको शक्ति स् उद्यम विकास, समृद्धिको आधार’ कार्यक्रम पनि सञ्चालन गरिने भएको छ।
कृषि क्षेत्रमा प्राङ्गारिक मल उद्योग स्थापना गर्ने, बाँझो जमिनको सदुपयोग गर्ने, उत्पादनका आधारमा क्षेत्रगत कृषि प्रवद्र्धन गर्ने तथा सिँचाइ विस्तार गर्ने नीति लिइएको छ। धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको प्रवद्र्धनसँगै राष्ट्रिय दलित संग्रहालयको अवधारणालाई कार्यान्वयन गर्ने आधार तयार गरिने उल्लेख गरिएको छ।
वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ६१ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ। वातावरण संरक्षणअन्तर्गत १० हजार ८ वटा वर, पिपल र समीका बिरुवा रोप्ने अभियान सञ्चालन गरिनेछ। खानेपानीका मुहान, कुवा, चौतारा तथा सार्वजनिक पोखरी निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ।
आवासविहीन परिवारका लागि घर निर्माण गर्न ३१ लाख ५० हजार रुपैयाँ तथा खरका छाना विस्थापन कार्यक्रमका लागि ४ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाले सुकुमवासीमुक्त पालिका घोषणा अभियानलाई पनि निरन्तरता दिने जनाएको छ।
शिक्षातर्फ ‘गुणस्तरीय शिक्षाको आधारशिला, सुधारिएको पाठशाला’ नारासहित एक विद्यालय एक करेसाबारी कार्यक्रम सञ्चालन गरिने भएको छ। प्राविधिक धार सञ्चालित शान्ति माविमा एआई ल्याब स्थापना, एसईईका विद्यार्थीका लागि मुख्य विषयमा अनलाइन कक्षा सञ्चालन तथा विद्यालयबाहिर बालबालिका शून्य बनाउने अभियान अगाडि बढाइने भएको छ। सामुदायिक विद्यालयमा जंकफुड निषेध गरी दिवाखाजा मेनु कार्यान्वयन गरिने नीति पनि लिइएको छ।
सूचना प्रविधितर्फ नगर केन्द्र कुस्मिसेरामा निःशुल्क वाइफाइ सेवा विस्तार गरिने भएको छ भने बजार सौन्दर्यकरण, फोहोरमैला व्यवस्थापन, सौर्य बत्ती जडान तथा अव्यवस्थित पोल र तार व्यवस्थापनका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। निर्माणाधीन प्रशासकीय भवन आगामी मंसिरभित्र सम्पन्न गरी आफ्नै भवनबाट सेवा प्रवाह गर्ने लक्ष्य राखिएको छ।
नगरपालिकाले चालूतर्फ १२ करोड ६५ लाख रुपैयाँ र पुँजीगततर्फ ४२ करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ। संघीय तथा प्रदेश सरकारका विभिन्न अनुदान, राजस्व बाँडफाँट, सडक बोर्ड नेपाल, आन्तरिक स्रोत तथा गत वर्षको मौज्दात रकमबाट बजेट व्यवस्थापन गरिने जनाएको छ।












