बागलुङ । ग्लोबल मनी विकको अवसरमा प्रभु बैंक बागलुङ शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शाखा कार्यालयले धौलागिरि एकीकृत ग्रामिण विकास केन्द्र डिआइआरडिसीमा सिप मुलक तालिम लिइरहेकाहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको हो। ‘प्लान योर मनी प्लान योर फ्युचर ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममार्फत वित्तीय साक्षरता तथा जागरणका कार्यक्रम गरेको प्रभु बैंकले जनाएको छ ।
कार्यक्रममा प्रभु बैंकका क्लस्टर अधिकृत दिपक शर्माले वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिँदै सही तरिकाले पैसाको प्रयोग गर्न सक्ने ज्ञान, वित्तीय लक्ष्य निर्धारण लगाएतको बारेमा जानकारी दिनु भयो । साथै शर्माले उपयुक्त वित्तीय सेवाहरू छनौट र प्रयोग गर्न सक्ने क्षमता विकास गर्ने, भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा योजनाबारे जानकारी दिनुभयो ।
कार्यक्रममा धौलागिरि एकीकृत ग्रामिण विकास केन्द्र डिआइआरडिसीका परियोजना अधिकृत शालिकराम शर्माले सफल बन्न वित्तीय ज्ञान आवश्यक रहेको बताउनु भयो । कार्यक्रमको सञ्चालन प्रभु बैंकका प्रदेश सञ्चालन अधिकृत रेशमलाल आचार्यले गर्नु भएको थियो ।
अघिल्ला वर्षजस्तै यस वर्ष पनि ग्लोबल मनी वीकका अवसरमा प्रभु बैंकले विभिन्न स्थानहरूमा कार्यक्रम गरिएको छ। कार्यक्रममार्फत विवेकपूर्ण तरिकाले पैसाको प्रयोग गर्न सक्ने ज्ञान र सीप बढाउने, अल्पकालीन र दीर्घकालीन वित्तीय लक्ष्य निर्धारण गर्न सिकाउने कार्य भएको छ । बिहीबार बागलुङ नगरपालिका वडा नम्बर ७ को विश्वकर्मा माविका विद्यार्थीहरूलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ ।
साक्षरताले सहभागी व्यक्तिहरूलाई पैसा वा सम्पत्तिलाई परिचालन गर्ने ज्ञान वृद्धि गर्न, गर्नुपर्ने खर्चहरूको योजना गर्न, वित्तीय सेवा सम्बन्धी आवश्यक सूचनाहरू प्राप्त गर्न टेवा पुग्ने विश्वास लिईएको छ।