बागलुङ, सोमबार साँझदेखि परेको अविरल वर्षापछिको बाढी पहिरोले पश्चिम बागलुङमा वितण्डा मच्चाएको छ । बाढी पहिरोका कारण बडिगाड गाउँपालिका वडा नं. ९ र १० दर्लिङमा पाँच बालबालिका सहित आठ जनाको मृत्यु भएको र केही घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बडिगाड गाउँपालिका वडा नं. १० मा छ जना र ९ मा २ जना गरी ८ जनाको मृत्यु भएको जानकारी दिनुभयो । वडा नं. १० मा ७ वर्षका मालती बुढा र मधु बुढा, सञ्जु बिकको छ महिने छोरी, १२ वर्षका मनोज बुढा र अमन बुढा तथा ५९ वर्षीया मैतीदेवी बिक र वडा नं. ९ का १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको बरालले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएर वडा नं. १० का ४६ वर्षीय संगीता बुढा, ५९ वर्षीय सुमित्रा बिक, ३२ वषीया सीता थापा र ४२ मंगलसिँह बुढा गम्भिर घाइते भएको छन् । गम्भिर घाइते भएकालेलाई हेलिकप्टरमार्फत उद्धारको प्रयास भइरहेको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले जानकारी दिनुभयो । बाढी पहिरोमा परेर थप २ जना वेपत्ता भएको जानकारी आएकाले खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएको छ ।
फोटो: राेशन थापा मगर