बागलुङ, २७ असार । बागलुङको छिमेकी जिल्ला म्याग्दीमा चालु आर्थिक वर्ष २०८१र०८२ मा संघीय सरकारको बजेट ९३ प्रतिशत खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका प्रमुख किरणचन्द्र सुवेदीका अनुसार संघ सरकार तर्फबाट प्राप्त जिल्लाको कुल बजेटको ९३ दशमलव ९७ प्रतिशत बजेट खर्च भएको हो ।
चालु तर्फ कुल तीन अर्ब ४४ करोड ४९ लाख ८९ हजार आठ सय ८३ जिल्लालाई प्राप्त भएकोमा तीन अर्ब २६ करोड १६ लाख दुई हजार नौ सय १४ रुपियाँ ६१ पैसा खर्च भएको छ ।
त्यस्तै पुँजीगत तर्फ ४३ करोड ७१ लाख ७६ हजार विनियोजीत बजेटमध्ये ३८ करोड ६५ लाख ६८ हजार नौ सय ४३ रुपियाँ २५ पैसा खर्च भएको हो । संघिय सरकारको बजेटको चालु तर्फ ९४ दशमलव ६७ र पुँजीगत तर्फ ८८ दशमलब ४२ प्रतिशत बजेट खर्च भएको हो । चालु र पुँजीगत गर्दा कुल ९३ दशमलव ९७ प्रतिशत खर्च भएको सुवेदीले जानकारी दिनुभयो ।
म्याग्दीमा प्रदेशको बजेट ७५ प्रतिशत खर्च भएको छ । प्रदेश सरकार तर्फको कार्यालयको चालु तर्फ ४८ करोड ९९ लाख ९२ हजार दुई सय ३५ मध्ये ३६ करोड ९५ लाख २६ हजार नौ सय ६९ रुपियाँ ३१ पैसा अर्थात् ७५ दशमलब ४१ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगत खर्च तर्फ कुल ८५ करोड १६ लाख ७३ हजार बजेट जिल्लाका लागि आएको भए पनि ६४ करोड ९१ लाख ६३ हजार ४६ रुपियाँ ५३ पैसा अर्थात् ७६ दशमलव २२ प्रतिशत बजेट खर्च भएको हो । प्रदेश तर्फको बजेट ७५ दशमलव ९२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयप्रमुख सुवेदीले जानकारी दिनुभयो ।