बागलुङ, १ कार्तिक । सदरमुकाममा रहेकाे जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट काठेखोला गाउँपालिका वडा नं. ५ बिहुँमा सारिएको छ । सदरमुकामदेखि २३ किमी पश्चिममा रहेको बिहुँस्थित बिहुँकोट खेलकुद तथा समाज विकास केन्दको कवर्ड हलमा कार्यालय सारिएको समितिका अध्यक्ष कृष्णप्रसाद कंडेलले जानकारी दिए ।
घर भाडा लिनका लागि रकम अभाव भएको, सरकारी कार्यालयहरुमा एउटा कोठा पनि नपाएपछि कार्यालय सार्नुको विकल्प नभएको उनले बताए । अध्यक्ष भएपछि उनले आफ्नै कर्मस्थल रहेको बिहुँकोटमा निशुल्क रुपमा कार्यालय संचालन गर्न सार्नु परेको बताए ।
यसअघिका कार्यसमितिलाई घर भाडाबापत रकम आउने गरेको थियो । तर, चालु आर्थिक वर्षदेखि भाडा कटौती भएको जानकारी आएपछि कार्यालय संचालनमा कठिनाइ भएको थियो । शुक्रबार उक्त कार्यालय बिहुँकोट सारिएको कँडेलले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
समितिले जिल्लामा हुने खेल गतिविधिलाई समन्वय गर्ने र राष्ट्रपति खेलकुद कार्यक्रमहरु संचालन गर्दै आएको छ । सदरमुकाममा रहेको कार्यालयलाई अध्यक्षले आफ्नो घरपायकमा सारेको भन्दै सामाजिक सञ्जालमा ब्यापक विरोध भएको छ ।