बागलुङ ,१५ कार्तिक । देउराली चोक आमा समुह बागलुङले मानवसेवा आश्रम बागलुङलाई आर्थिक सहयोग गरेको छ ।
२०८२ सालको तिहारमा देउसी भैलो खेलेर संकलन भएको रकमबाट मानवसेवा आश्रम बागलुङको भवन निर्माणका लागि नगद एक लाख पाँच सय ५५ रुपैयाँ सहयोग गरेको समुहकी कोषाध्यक्ष रुपा थापाले बताउनुभयो । ‘देउसी भैलो कार्यक्रमबाट केही रकम संलकन गरेका थियौं, त्यसबाट विभिन्न ठाउँमा सहयोग गर्ने क्रममा यो आश्रमका लागि एक लाख पाँच सय ५५ रुपैयाँ सहयोग गरेका छौं,’उहाँले भन्नुभयो,‘यो सानो सहयोगले आश्रमको निर्माण र सञ्चालनमा केही भए पनि टेवा पुगोस् भन्ने हाम्रो उद्देश्य छ ।’
उक्त रकम समुहकी अध्यक्ष सरीता थापामगर, उपाध्यक्ष गौरी रोकामगर, सचिव खगीसरा थापामगर, सहसचिव हरिकला थापामगर, कोषाध्यक्ष रुपा थापामगर सहित सिंगो देउराली चोक आमा समुहका सदस्यले मानवसेवा आश्रम बागलुङकी अभिभावक लक्ष्मी बासकोटा र सञ्चालिका विपना तामाङलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सहयोग रकम ग्रहण गर्दै मानवसेवा आश्रम बागलुङकी अभिभावक लक्ष्मी बास्कोटाले सबैको सहयोगबाट मानवताको स्मारक निर्माण अगाडि बढाईएको र महायज्ञ मार्फत त्यसलाई पूरा गर्न लागिएको बताउनुभयो ।
‘सबै भन्दा ठूलो धर्म मानवसेवा हो, हामी मानव स्मारक बनाउँदैछौं, मानवसेवा आश्रमको भवन नै मानवस्मारक हो,’उहाले भन्नुभयो,‘धेरै जनाको धेरै थोरै सहयोगबाट यो निर्माण अगाडि बढेको छ । यसरी नै सबैको सहयोगले हामी त्यसलाई पूरा गर्ने चरणमा जाँदैछौं ।’
यही कात्तिक २१ गतदेखि २८ गतेसम्म मानवसेवा आश्रम बागलुङको भवन निर्माणका लागि बानपा-४ निरयघाटमा महायज्ञको आयोजना गरिएको छ ।
उक्त भवन निर्माण भएपछि दुई सय भन्दा बढि आश्रितलाई आश्रममा राख्न सकिनेछ । अहिले सबै उमेर समुहका गरी ६६ जना मानवसेवा आश्रममा आश्रित रहेको आश्रमकी सञ्चालिक विपना तामाङले बताउनुभयो  ।
देउरारी चोक आमा समुहकी अध्यक्ष सरीता थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य माया पुनले मन्तव्य राखेकी थिए। कार्यक्रमको सञ्चालन मानवसेवा आश्रमकी सञ्चालिका विपना तामाङले गर्नुभएको  । विभिन्न ठाउँबाट बागलुङ बजारमा झरेर देउराली चोक र आसपासमा बसोबास गर्ने मगर महिलाहरुको उक्त समुहले समुदायको सहयोगका लागि काम गर्दै आएको छ । बागलुङ बजारमा बस्दा केही अप्ठ्यारो पर्दा र खुसी र उत्सव तथा शुभकार्यहरु गर्दा पनि समुहले सहयोग गर्ने गरेको समुहकी अध्यक्ष सरीता थापाले बताउमुभयो  ।
‘मर्दा पर्दा सजिलो अप्ठ्यारोमा सामुहिक रुपमा एकले अर्कोलाई सहयोग गर्ने गरी हाम्रो समुह बनेको थियो,’अध्यक्ष थापाले भन्नुभयो,‘देउसी भैलो खेल्छन् पैसा उठाएर खान्छन् रमाईलो गर्छन् भन्ने खालको धारणा विकास भएको पाईयो । हामीले यस्तै सामाजिक क्षेत्रहरुमा सहयोग गर्दै आएका छौं । यस पटक मानवसेवा आश्रमलाई सहयोग गरेका छौं । यस्तै अरुलाई पनि सहयोग गर्ने हाम्रो तयारी छ । अप्ठ्यारो पर्दा समुहकै सदस्यलाई पनि सहयोग गर्ने गरेका छौं ।’
समुहले विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रमहरुमा सामुहिक रुपमा सहभागिता जाउँदै आएको छ । यो समुहले विगत केही वर्षदेखि नौमती बाजा समेत बजाउँदै आएको छ । देउराली चोक आमा समुहले नौमती बाजा बजाउन थालेपछि बागलुङ बजारमा हुने विभिन्न कार्यक्रम र शुभकार्यका लागि सदरमुकाम बाहिरबाट बाजा समुह बोलाउनुपर्ने बाध्यता समेत हटेको छ ।
								
															











