बागलुङ , ५ मंसिर । बागलुङमा आगामी पुस ११ गते देखि २१ गते सम्म हुने आठौँ बागलुङ महोत्सवको तयारी तीव्र पारिएको छ ।
गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक व्यापार मेला एवं आठौँ बागलुङ महोत्सव हुने भएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष एंव मूल आयोजक समितिका संयोजक राजन कुमार शाक्यले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो
बागलुङ नगरपालिका वडा नं १मा रहेको बाङ्गेचौर खेल मैदानमा संचालन हुने महोत्सवमा खुला प्रदेशस्तरीय पुरूष तथा महिला भलिबल, खुला राष्ट्रिय दोहोरीगीत प्रतियोगिता, पञ्चेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भाले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, घैंटौफोर, तारो हान्नेलगायत विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।
महोत्सवमा फोटो प्रदर्शनी, सांस्कृतिक झाँकी, स्थानीय खाना प्रवद्र्धन, सुन्तला, माछाको प्रदर्शनी, हस्तकला, कृषि तथा पशु, औद्योगिक उत्पादन, स्थानीय जटिबुटी, सूचना प्रविधि आदिको प्रदर्शनी तथा बिक्रीकक्ष रहने छन् शाक्यले भन्नुभयो ।
अंग्रेजी नयाँ वर्ष पारेर विशेष सांगीतिक कार्यक्रम पनि तय गरिने जनाइएको छ । महोत्सवमा बढीमा दुई सयसम्म व्यावसायिक स्टल रहनेछन् ।
आठ लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको संघका निर्वतमान अध्यक्ष एवं सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक नरेश कँडेलले बताउनुभयो । महोत्सवको प्रतिटिकटबाट रू.दस रुपैयाँ मानसेवा आश्रम बागलुङलाई सहयोग गरिने उहाँले जानकारी दिनुभयो ।
महोत्सवबाट बचेको रकम व्यावसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोशेली घर संचालन आदिमा खर्च गरिने जनाइएको छ ।
महोत्सवमा रू. दुई करोड २० लाख आम्दानी हुने र रू. एक करोड ७० लाख खर्च हुने आयोजकको अनुमान छ । महोत्सव सफल पार्न ४५ वटा उपसिमिति गठन गरिएको संघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिनुभयो ।
महोत्सवमा रू. एक सयको प्रवेश टिकट तोकिएको छ । विद्यार्थीलाई रू. ७० को टिकट व्यवस्थापन गरिएको छ । ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई निस्शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । विद्यालयले सामूहिक रूपमा विद्यार्थीलाई महोत्सव अवलोकनमा लैँजादा पनि प्रवेश शुल्क नलाग्ने आयोेजकले जनाइएको छ ।











