बागलुङ, ३ मङ्सिर । बागलुङबाट सञ्चालित ईपरीन्यूज डटकममा कार्यरत पत्रकार दिलीप पर्तेलमाथि भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाले आपत्ति जनाएको छ ।
गत जेठ २९ गते ईपरीन्यूज डटकममा ‘कार्यालय समयमा मोटरसाइकल सिक्दै स्वास्थ्यकर्मी’ शीर्षकमा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार पर्तेलमाथि बागलुङको जैमनी नगरपालिका–१ दमेकस्थित नेपाने सहरी स्वास्थ्य केन्द्रका प्रमुख भीम पुनले गरेको हातपात र दुर्व्यवहारको घटनाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
‘पत्रकार प्रतेलको मोबाइलसहित सञ्चार सामग्रीसमेत नियन्त्रणमा लिइएको उक्त घटनाबाट स्वतन्त्र प्रेसको अधिकारमाथि गम्भीर खलल पुगेको हाम्रो ठहर छ’, शाखाका सचिव नारायण रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
कुनैपनि समाचारमा गुनासो वा विमति भएमा प्रचलित विधि वा कानुनी प्रकृयाबाट समस्याको समाधान खोज्नुपर्नेमा पत्रकारलाई धाकधम्की दिनु र हातपात गर्नु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कार्य रहेको महासङ्घले जनाएको छ ।
पत्रकारको भौतिक सुरक्षामै गम्भीर प्रश्न उठ्ने गरी भएको उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन महासङ्घले सम्बन्धित पक्षसँग माग गरेको छ ।












