बागलुङ, २५ वैसाख । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गएिको छ ।
ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको हो ।
१५ दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाईमा पुगेर ५६ सेन्सर सहितको क्यामेरा गरिएको छ ।
नाउर र झारलको वैधानिक सिकार हुने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भएपनि अहिले सम्म गणना हुन सकेको थिएन । हिउँ चितुवाको एकिन संख्या पत्ता लगाउन प्राविधिक, शिकार आरक्षको टोली र गणकहरु क्यामेराज जडान गरेर फर्किएका छन् ।
ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार ५६ क्यामेरा तीन समूहले ६ वटा सिकार ब्लकमा राखेर फर्केको बताउनुभयो । क्यामेराले ४५ दिन सम्म आफै फोटो संकलन गर्नेछ । क्यामेराको ब्याट्री र मेमोरी कार्ड भने १५ दिनमा परिवर्तन गर्न प्राविधिक समूह पुन क्यामेरा राखेको स्थानमा पुग्नेछ । ओडारमा बास बसेर, कष्टकर हिउँ छिचोलेर प्राविधिक टोली क्यामेरा जडान गरेर फर्किएको सुवेदीको भनाई छ ।
“हिउँ चितुवाको गणनाका लागि ५६ स्थानमा क्यामेरा राखिएको छ, क्यामेराले ४५ दिनसम्म कैद गरेका फोटोको आधारमा चितुवाको संख्या पत्ता लगाइन्छ, अहिले १५/१५ दिनमा क्यामेराको मेमोरी र व्याट्री फेर्न प्राविधिक टोली सोही स्थानमा पुग्छ” सुवेदीले भन्नुभयो “संभावित चितुवाको बासस्थान, ओडार, जंगल लगायत उच्च हिमाली भेगको बनोट हेरेर क्यामेरा जडान गरिएको छ ।”
हिउँ चितुवा गणनामा १५ जना कर्मचारी तथा प्राविधिकहरु खटिएका थिए । ढोरपाटन सिकार आरक्षको तीन हजार मिटरदेखि पाँच हजार ५०० मिटरभन्दा माथिसम्म हिउँ चितुवाको बासस्थान रहेको पाइएको छ । एक हजार ३२५ वर्ग कि.मि. क्षेत्रफलमा फेलिएको आरक्षको मुख्यालय बागलुङमा रहेपनि म्याग्दी र रुकुम सम्म फैलिएको छ । वैशाखको ११ गतेबाट राख्न थालिएको क्यामेरा ४५ दिनपछि संकलन गरेर कार्यालयमा ल्याएर गणना गरिने छ ।
आरक्षका विभिन्न सिकार ब्लकमध्ये सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा हिउँ चितुवा गणना गर्नका लागि क्यामेरा जडान गरिएको हो ।
रेन्जर सुवेदीका अनुसार हिउँ चितुवा हिँड्ने सम्भावित बाटो, चट्टान, घारी र पास क्षेत्रमा स्वचालित क्यामेरा राखेर फोटो कैद गरी फोटोका आधारमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ । यस्तै हिउँ चितुवाको जंगलमा भेटिएको दिसा संकलन गरेर प्रयोगशालामा परीक्षण गरिन्छ भने पदचिन्ह तथा संकेत सर्वेक्षण पाइलाका आधारमा समेत चितुवाको संख्या गणना गर्न सकिन्छ ।










