बागलुङ, १८ बैसाख । बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद सुशिल खड्काले बुधवार दिउँसो एउटा स्टाटसमार्फत १० घण्टामा १० वटा वडाका जनतासँग परामर्श गर्ने जानकारी गराउनुभएको थियो।
त्यसैसँगै उहाँले बैशाख १७ गते बिहीबार बिहान साढे ७ बजे काठेखोला गाउँपालिका वडा नं. १ पालाबाट जनतासँग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत मतदाता लगायत सरोकारवालासँग भेटघाट सुरु गरेका छन् ।
जनताबाट निर्वाचित जनप्रतिनिधिले धेरै समय लिएर जनताका कुरा सुन्नु पर्ने भन्ने आवाजलाई सम्बन्धित पक्षले ग्रहण गरेकै हुनुपर्छ। आलोचनाले सुधार्छ भन्ने कुरा र आलोचकलाई कामले जवाफ दिनुपर्छ भन्ने सन्देश सांसद खड्काले एकैसाथ दिनुभएको छ।
विगतमा विजयी भएका मात्र होइन, पराजित भएका उम्मेदवारहरूले समेत वडा–वडामा कार्यक्रम बनाउने, नेताहरूको लस्कर पुग्ने र सबैले मन्तव्य व्यक्त गर्ने प्रचलन रहेकोमा नवनिर्वाचित सांसद खड्काले भेटघाटको प्रक्रियालाई संक्षिप्त, उद्देश्यपूर्ण र मन्तव्यरहित बनाएर अरुलाई पनि अनुकरण गर्नुपर्ने सन्देश दिनुभएको छ।
सामान्य औपचारिकता बाहेक धेरै तामझाम पनि भएन, ब्यानर पनि थिएन, वडा कार्यालयमा पुग्ने, वडाका जनप्रतिनिधि र सरोकारवालाका कुरा सुन्ने र सांसदले आफ्नो प्रतिबद्धता व्यक्त गरेर कार्यक्रम छोटोमा सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकीका सचिवालय सदस्य खिमानन्द पौडेलले जानकारी दिनुभयो।
परिणाम भन्दा पनि प्रक्रियामा धेरै अल्झने विगतको प्रचलन विपरीत सांसद खड्काले बिहीबार बिहानदेखि साँझसम्म ९ वटा वडाका जनप्रतिनिधि लगायत सरोकारवालासँग परामर्श गर्ने, वडाको विकासको अवस्था बुझ्ने, जनताका आवश्यकताबारे छलफल गरी ग्रहण गर्ने र समस्या समाधानका लागि प्रतिबद्धता व्यक्त गरेको वडाका जनप्रतिनिधिहरूले बताएका छन्।
सामाजिक सञ्जालमा पोष्ट गरेको सूचना हेर्दा एकै दिनमा १० वटा वडामा पुग्ने कुरा असम्भव जस्तो लागेको थियो, नेकपा एमालेका एक जिल्ला सदस्यले भने, “योजना, तयारी र प्रतिबद्धता भएपछि सकिँदो रहेछ, छोटो भेटघाटबाट पनि धेरै विषयमा छलफल भएको कुरा स्वयं जनप्रतिनिधिहरूले सामाजिक सञ्जालमा व्यक्त गरेका कुराबाट बुझ्न सकिन्छ।”
जनतासँग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत बिहान ७ बजे पालाबाट शुरु भएको भेटघाट भिमापोखरा, धम्जा, तंग्राम, तल्लो बिहुँ, माथिल्लो बिहुँ, लेखानी, रेश हुँदै साँझ सिगानामा सम्पन्न भएको छ।
सांसद खड्काले जनतासँग भेट गरेको कार्यक्रम समापन लगत्तै कुन–कुन वडामा के–के भयो, कुन वडाको विकास निर्माणको अवस्था कस्तो छ भन्ने विषयमा पनि सामाजिक सञ्जालमार्फत वडाको भेटघाट सकिँदासाथ पोष्ट गर्नुभएको छ।
नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद खड्काले भेटघाटसँगै सूचना प्रवाहलाई पनि अत्यन्तै व्यवस्थित र प्रभावकारी बनाउनुभएको छ। खड्काको कार्यशैलीलाई अन्य राजनीतिक दलका नेताहरूले मनन गर्दा राम्रै हुने देखिन्छ । खड्काको सचिवालयले प्रभावकारी सूचना प्रवाह गरेको छ ।
सांसद, मन्त्रीहरुले प्रमुख स्वकीय, स्वकीय लगायत डायरी बोकेर हिड्ने मान्छेलाई रोजगारी त दिएका हुन्छन् तर समाचारका लागि उनीहरुको अनुकुलतामा पत्रकारलाई टिपाउने, अझै कार्यक्रममा जानका लागि पत्रकार नै बोकेर हिड्ने प्रवृतिलाई पनि सांसद खड्का र उहाँको सचिवालयको क्रियाकलापले सचेत बनाएको हुनु पर्छ ।
सामाजिक सञ्जाललाई प्रभावकारी उपयोग गर्दा सही समयमा सही सन्देश दिन सकिन्छ भन्ने सन्देश समेत दिएका सांसद खड्काले सबै वडामा पुगेर भेटघाट सम्पन्न गरेपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु भएको छ ।
काठेखोला गाउँपालिकाका ८ वटा वडामा भएका र वडाका सकारात्मक विषयमा सांसद खड्काले सार्वजनिक गरेको विषयहरु निम्नानुसार रहेका छन् ।
काठेखोला गाउँपालिका वडा नं. १ पाला : बजारसम्मको सडक स्तरोन्नती
आज बिहान काठेखोला गाउँपालिका वडा नं. १, पालामा पुगेर स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूसँग भेटघाट र छलफल गरियो । भेटका क्रममा पालावासीका मुख्य समस्याहरूमा बागलुङ बजारसम्म जोड्ने सडकको स्तरोन्नती र सीमान्तकृत समुदायले उत्पादन गरेको दूधजन्य उत्पादनले उचित बजार नपाएको विषयमा गम्भीर छलफल भयो ।
ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन जनतासँग होस्टेमा हैसे गर्दै अगाडि बढ्ने र स्थानीय निकायसँग समन्वय गरी बजार व्यवस्थापनमा ठोस पहल गर्ने मेरो योजना रहेको छ । पालावासीको न्यानो स्वागतका लागि म हृदयदेखि नै आभारी छु ।
काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरा : प्राथमिकतामा रिङरोड
पालापछि काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरा पुगेर स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूसँग भेट गरियो । भेटका क्रममा वडाका प्राथमिकताको रूपमा मुख्य बाटोहरूमा रिङरोड, खानेपानीको सवालमा छलफल भयो । साथै, ग्रामीण क्षेत्रमा औषधिको उपलब्धता, विद्यालय मर्जर, ऐतिहासिक भीमा दरबारको संरक्षण, धौलागिरी स्तरीय कोल्ड स्टोरेज र जनताको चासोको रूपमा रहेको भाङ्गो, कोदो जस्ता जलवायु उत्थानशील बाली (ऋष्mिबतभ च्भकष्ष्भिलत ऋचयउ) खेतीका विषयमा संवाद भयो ।
भीमपोखरावासीको न्यानो आतिथ्यताका लागि धन्यवाद दिन चाहन्छु । जनतासंग प्रत्यक्ष र परोक्ष रूपमा जोडिएका विषयमा स्थिति र नीतिमा रहेर कार्य गर्ने र ऐतिहासिक भिमा दरबारलाई संस्थागत रूपमा पर्यटनसँग जोड्ने मेरो लक्ष्य रहेको छ ।
काठेखोला गाउँपालिका वडा नं. ३ धम्जा : धम्जाको आलुलाई ब्राण्डिङ गर्नु पर्छ
’जनतासँग जनप्रतिनिधि’ अभियान अन्तर्गत काठेखोला गाउँपालिका वडा नं. ३ धम्जामा पुगेर स्थानीय बासिन्दाहरूसँग उहाँहरूका समस्याका बारेमा छलफल गरेका छौ ।
धम्जाका मुख्य सन्दर्भहरू :–
– बाटोको एजेण्डालाई प्राथमिकताका साथ उठाएकोमा स्थानीयहरूले धन्यवाद व्यक्त गर्नुभएको छ । असार महिनामा पनि यातायात सहज बनाउन र ’अल वेदर’ (सधैँ चल्ने) बाटो निर्माणका लागि मेरो तर्फबाट ठोस पहल हुनेछ ।
– कृषि र बजारीकरण : धम्जामा वार्षिक करिब ३ हजार मुरी आलु उत्पादन हुने भए तापनि प्राविधिक ज्ञानको कमीले कोल्ड स्टोर (शीत भण्डार) पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । यो आलुलाई ’धम्जाको आलु’ को रूपमा ब्रान्डिङ गरेर बजारसम्म पुर्याउने र कोल्ड स्टोरलाई व्यवस्थित गर्न सहयोग गर्ने
– धम्जामा वार्षिक ४–५ मुरी भाङ्गो समेत उत्पादन भइरहेको र वन पैदावारलाई आयआर्जनसँग जोड्न आवश्यक पहल गर्ने ।
– पर्यटन : बेलढुङ्गा–पञ्चकोट साइकल मार्ग र पदमार्ग (त्चभपपष्लन तचबष्)िनिर्माण गरी यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरेर ग्रामीण पर्यटन संग जोड्नमा माग गर्ने । धम्जावासीका यी महत्वपूर्ण समस्या र सुझावहरूलाई सम्बोधन गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
काठेखोला गाउँपालिका वडा नं. ४ तंग्राम : बसाई सराइ कम हुने वडा
’जनतासँग जनप्रतिनिधि’ अभियानको क्रममा काठेखोला गाउँपालिका वडा नं. ४, तग्राममा पुगेर स्थानीय बासिन्दाहरूसँग भेटघाट गरेको छु । भेटघाटका क्रममा तङ्ग्रामको विकास र यहाँको विशिष्ट पहिचानका विषयमा निम्न कुराहरू उठेका छन :–
– तग्राममा ‘एक वडा एक उत्पादन’ अन्तर्गत सुन्तला खेतीमा केन्द्रित हुन स्थानीय जनसमुदायबाट विशेष माग आएको छ । यस क्षेत्रमा आलु र भाङ्गो उत्पादनको पनि प्रचुर सम्भावना रहेकाले यसलाई व्यावसायिक बनाउन पहल गरिनेछ ।
– यहाँ रहेको जनजाति तथा सांस्कृतिक सङ्ग्रहालय र विश्वकै ठूलो नगाँरा यस क्षेत्रको गौरव हो । यसलाई सांस्कृतिक र पर्यटकीय रूपमा विश्वस्तरमा प्रवद्र्धन गर्न आवश्यक योजना बनाइनेछ ।
– पूर्वाधार र कनेक्टिभिटी : बागलुङ बजार र काठेखोलालाई जोड्ने रिङरोडको महत्व तंग्रामका लागि निकै ठूलो रहेकाले यसलाई छिटो सम्पन्न गर्न प्रभावकारी पहल गरिनेछ ।
– बसाइँसराइ न्यूनीकरणको उदाहरणीय मोडेल : तग्राममा बसाइँसराइको दर एकदमै न्यून हुनु सकारात्मक पक्ष हो । गाउँमै बस्ने वातावरण कसरी बन्यो भन्ने विषयमा ’केस स्टडी’ (ऋबकभ क्तगमथ) गरी यहाँको सकारात्मक र उदाहरणीय कार्यलाई अन्य क्षेत्रमा पनि सिकाईको रूपमा लैजाने मेरो योजना छ ।
काठेखोला गाउँपालिका वडा नं. ५ (माथिल्लो विहुँ)ः धार्मिक पर्यटनको केन्द्र बनाउनु पर्छ
परापूर्व कालमा ठूलो खडेरी पर्दा पनि यहाँका बासिन्दाले गहुँ, जहु र मकै जस्ता बालीको बीउ जोगाएर राखेका कारण ’बिहुँ’ रहन गएको भन्ने जानकारीसंगै यस ठाउँमा ’जनतासँग जनप्रतिनिधि’ अभियानको क्रममा आज बिहुँमा पुगेर स्थानीय बासिन्दाहरूसँग साक्षत्कार गरिएको छ ।
भेटघाटका मुख्य सन्दर्भहरू :–
१. लोकमार्ग अलपत्र अवस्थामा रहँदा यहाँका बासिन्दाले भोग्नुपरेको धुलोको समस्या र यसले गर्दा बढ्दो बसाइँसराइको चिन्ता स्थानीयले व्यक्त गर्नुभएको छ । कामको ढिलासुस्तीलाई अन्त्य गर्न र सडक निर्माणको प्रत्यक्ष अवलोकन गरी गति दिन मेरो तर्फबाट निरन्तर दबाब रहनेछ ।
२. जनघनत्व बढ्दै गएको घोडाबाँधे–पोखरा क्षेत्रलाई व्यवस्थित बस्तीको रूपमा विकास गर्ने र त्रिपुरेश्वर महादेव शिवधुरीलाई मौलिक रूपमा संरक्षण गरी धार्मिक पर्यटनको केन्द्र बनाउने योजनामा हामी सहमत छौँ ।
३. सरकारी कार्यालयहरूमा बारम्बार ’सर्भर डाउन’ हुने समस्याले गर्दा जनता सेवा पाउनबाट वञ्चित हुनुपरेको गुनासो आएको छ । यसलाई प्राविधिक रूपमा सुधार्न र सेवालाई चुस्त बनाउन पहल गरिनेछ ।
यहाँका महिला समूहले मकैको खोस्टाबाट बनाउनुभएको सुन्दर ’मायाको चिनो’ ले मलाई निकै उत्साहित बनायो । यस्ता स्थानीय सीप र उद्यमलाई धार्मिक पर्यटनसँग जोड्न सकेमा स्वरोजगार सिर्जना भई बसाइँसराइ कम गर्न मद्दत पुग्नेछ ।
बिहुँवासीको यो आत्मियता र सृजनशीलताका लागि म नतमस्तक छु ।
काठेखोला गाउँपालिका वडा नं. ६ (तल्लो बिहुँ) : ‘एकीकृत सुन्तला पकेट जोन बनाउनु पर्छ
’जनतासँग जनप्रतिनिधि’ अभियानको क्रममा काठेखोला गाउँपालिका वडा नं. ६, बिहुँमा पुगेर स्थानीय आमाबुबा तथा दाजुभाइ दिदीबहिनीहरूसँग भेटघाट र छलफल गरियो । भेटका क्रममा उहाँहरूले मेरो कार्यकाल सफल होस् भनी दिनुभएको आशीर्वादले मलाई थप हौसला मिलेको छ ।
छलफलका मुख्य विषयहरू :–
१. मध्यपहाडी लोकमार्गको समस्या : सडकको तिरो तिरेर पनि पिच नहुँदा धुलो र हिलोका कारण जनस्वास्थ्य, कृषि र दैनिक जनजीवनमा परेको गम्भीर असरबारे स्थानीयले गुनासो राख्नुभएको छ । यस सडकखण्डको स्तरोन्नतीका लागि मैले प्रधानमन्त्री कार्यालय (एःइ), प्रमुख जिल्ला अधिकारी र सम्बन्धित सरोकारवालाहरूसँग निरन्तर समन्वय गरिरहेको छु ।
२. खानेपानी र पूर्वाधार : यस क्षेत्रमा खानेपानीको भरपर्दो स्रोत नहुँदा देखिएको अभावलाई दीर्घकालीन रूपमा समाधान गर्न पहल गरिनेछ ।
३. कृषि र बाँदर आतंक : बिहुँ क्षेत्रको करिब १०१ हेक्टरमा भइरहेको सुन्तला उत्पादनलाई थप व्यवस्थित बनाउन ‘एकीकृत सुन्तला पकेट जोन’ बनाउने र उत्पादन क्षेत्र बढाउने र राष्ट्रिय समस्याको रूपमा रहेको ‘बाँदर आतंक’ नियन्त्रणका लागि हामीले सामूहिक रूपमा पहल थालेका छौँ । साथै, कृषकहरूले उठाउनुभएको ‘कृषिमा सामाजिक सुरक्षा’ को विषयलाई पनि मैले गम्भीरतापूर्वक लिएको छु ।
४. धार्मिक पर्यटन : बागलुङलाई आध्यात्मिक र धार्मिक केन्द्रको रूपमा विकास गर्ने मेरो संकल्प अनुसार बिहुँकोट र खड्ग महाराज मन्दिर क्षेत्रको विकास र प्रवद्र्धन मेरो प्राथमिकतामा रहेको छ ।
५. सामाजिक सुरक्षा : स्थानीय तहबाटै अविवाहित महिलाहरूको भत्ता र सामाजिक सुरक्षाका विषयमा उठेका मागहरूलाई नीतिगत तहमा पुर्याउन मेरो सहयोग रहनेछ । बिहुँवासीको माया, सद्भाव र महत्वपूर्ण सुझावहरूका लागि हार्दिक आभार व्यक्त गर्दछु।
काठेखोला गाउँपालिका वडा नं. ७ रेश : देशले नै सिक्न पर्ने अनुकरणीय वडा
आज काठेखोला गाउँपालिका वडा नं. ७, रेशमा पुग्दा देशले नै सिक्न सक्ने धेरै अनुकरणीय र दूरगामी महत्वका कार्यहरू भइरहेको पाउँदा अत्यन्तै खुसी लागेको छ । रेश साँच्चिकै एउटा ’भिजनरी वडा’ को रूपमा अगाडि बढिरहेको छ ।
भेटघाटका मुख्य आकर्षण :
१. उदाहरणीय कृषि उद्यम : यहाँका युवाहरूले बाँझो जमिनलाई सदुपयोग गर्दै प्याकेजमा खेती गरिरहनुभएको छ । एकजना युवाले २०० रोपनी र अर्काले १५० रोपनीमा खेती गरेर बाँझो जमिनलाई उत्पादनसँग जोड्नुभएको छ, जुन देशकै लागि एउटा उत्कृष्ट उदाहरण हो ।
२. रेश चिया बगान : १८० किसानहरूको सहकार्यमा ३०० रोपनी जग्गामा चिया खेती भइरहेको छ । हाल यहाँबाट ’ग्रीन टी’ उत्पादन सुरु भइसकेको छ । यसको प्रशोधन र बजारीकरणमा थप सहयोग पुर्याउनु मेरो प्राथमिकतामा रहनेछ ।
३. ग्रामीण औद्योगिक ग्राम : वन, जङ्गल र कृषिलाई जोडेर मल उत्पादन गर्ने उद्देश्यका साथ ’काठेखोला ग्रामीण औद्योगिक ग्राम’ को भौतिक संरचना निर्माण सुरु भएको छ । यसका लागि आवश्यक बजेट व्यवस्थापनमा मेरो पूर्ण पहल रहनेछ ।
४. पकेट क्षेत्र र खनिज : यस क्षेत्रलाई सुन्तला, आलु, धान, मकै र ओखरको पकेट क्षेत्रको रूपमा विकास गरिनेछ । साथै यहाँ रहेका जडीबुटी, वन पैदावार र खानीहरूको सम्भाव्यता अध्ययन गरी उपयोगमा ल्याइनेछ ।
५. पूर्वाधार र पर्यटन : बागलुङ र काठेखोला जोड्ने रिङरोड निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ । पर्यटनतर्फ धम्जा–रेश–पञ्चकोट साइकल लेन र पदमार्ग निर्माण गरी ’कृषि पर्यटन’ लाई प्रवद्र्धन गर्ने हाम्रो साझा लक्ष्य छ । रेशका यी अभ्यासहरू देशैभरि सिको गर्न लायक छन ्। यहाँको उत्साह र कर्मशीलताले मलाई थप जिम्मेवार बनाएको छ ।
काठेखोला गाउँपालिका वडा नं. ८ लेखानी : गाजाको धुरीलाई पर्यटकीय गन्तव्य बनाउनु पर्छ
’जनतासँग जनप्रतिनिधि’ अभियानको सिलसिलामा काठेखोला गाउँपालिका वडा नं. ८, लेखानीमा पुगेर स्थानीय जनप्रतिनिधि र बासिन्दाहरूसँग छलफल गरिएको छ । लेखानीको विकास र यहाँका सम्भावनाहरूका बारेमा उहाँहरुले राख्नुभएका धारणाहरू र निष्कर्ष यस प्रकार रहेका छन् ।
१. वैज्ञानिक बजेट योजना र विकेन्द्रीकरण : एउटा योजनाका लागि पनि वडा अध्यक्षले सिंहदरबार धाउनुपर्ने र धेरै ठाउँमा ’तोक’ लगाउनुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य हुनुपर्ने माग गर्नु भएको छ । स्थानीय आवश्यकताका आधारमा वैज्ञानिक बजेट योजना (क्अष्भलतषष्अ द्यगमनभत एबिललष्लन) र स्थानीय सन्दर्भ सुहाउँदो विकास (ीयअब िऋयलतभहत क्उभअषष्अ म्भखभयिऊभलत) का लागि मेरो तर्फबाट नीतिगत पहल रहनेछ ।
२. पूर्वाधार र सडक : अक्षते–लेखानी–गल्कोट सडकको स्तरोन्नति, रिङरोड र वैकल्पिक मार्गहरूको विकासका साथै आवश्यकता अनुसार ’बेली ब्रिज’ निर्माण गर्नुपर्ने कुरामा वार्ड अध्यक्षले जोड दिनुभएको छ ।
३. पर्यटन र प्राकृतिक स्रोत : बागलुङको दोस्रो अग्लो पहाड ‘गाजाको धुरी’, जहाँ परापूर्व कालमा ऋषिमुनिहरूले तपस्या गरेका थिए । साथै यस क्षेत्रमा बौद्ध बिहारसँगै पदमार्ग र पार्क निर्माण गरी पर्यटकीय गन्तव्य बनाउन आवश्यक पहल गरिनेछ ।
४. कृषि र वन पैदावार : लेखानी क्षेत्रमा सुन्तला र कागती खेतीको प्रचुर सम्भावना देखिएको छ । वनजन्य पैदावार र जडीबुटीलाई व्यावसायिक रूप दिएर स्थानीय स्तरमै आर्थिक परिवर्तनको अनुभूति गराउने हाम्रो लक्ष्य छ । लेखानीवासीको विकासप्रतिको यो तत्परता र स्पष्ट दृष्टिकोणका लागि हार्दिक आभार व्यक्त गर्दछु ।










