काठमाडौँ, ३० वैशाख । सरकारले ‘सरकारी लगानी व्यवस्थापन समिति’मा २ सदस्य मनोनयन गरेको छ।
आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाका सदस्यद्वय सुशील खड्का र योगेश गौचन थकालीलाई सरकारी लगानी व्यवस्थापन समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको हो।
खड्का बागलुङबाट निर्वाचित रास्वपा सांसद हुन् भने गौचन मुस्ताङबाट विजयी कांग्रेस सांसद हुन्।
यसैगरी आज बसेको मन्त्रिपरिषद् बैठकले थप ३ निर्णय पनि गरेको छ। प्रधानमन्त्रीको कार्यालयका अनुसार बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
यसैबिच, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने निर्णय भएको छ भने भूमिसम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।










