एजेन्सी । यतिबेला अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको खबरले दर्शक, मिडियादेखि बलिउडसम्म स्तब्ध छ । सबैले उनको आत्मत्याको कारणबारे विभिन्न अड्कल काटिरहेका छन् । भने मुम्बई प्रहरीले उनको आत्महत्याबारे छानबिन गरिरहेको छ ।
तर, मुम्बई प्रहरीले छानबिनका क्रममा घटनास्थलबाट कुनै सुसाइड नोट नभेटिएको बताएको छ । जसका कारण सुशान्तको आत्महत्या एक रहस्य नै बनिरहेको छ ।
प्रहरीलाई एक गोप्य सोर्सले दिएको जानकारी अनुसार सुशान्त पछिल्लो ६ महिनादेखि डिप्रेसनमा थिए । यस्तै सुशान्तका साथीहरूले पनि उनी डिप्रेसनमा भएको स्वीकारेका छन् । उनका साथीहरूले सुशान्तको विगतसँग सम्बन्धित केही कुरा पनि बताएका छन् । खबरका अनुसार सुशान्तकी पूर्वप्रेमिका अंकिता लोखन्डेको गत सातामात्रै एक व्यापारीसँग बिहेको छिनोफानो भएको थियो ।
सुशान्त र अंकिता लामो समयको प्रेम सम्बन्धपछि छुटिएका हुन् । खबरका अनुसार सुशान्त बलिउड प्रवेश गरेसँगै उनीहरूको सम्बन्धमा दूरी आउन थालेको थियो । सुन्नमा यो पनि आएको थियो कि अंकितालाई सुशान्तले चलचित्रमा गर्ने चुम्बनका दृश्यहरूप्रति आपत्ति थियो । जसका कारण उनीहरूबीच झगडा बढ्दै गयो र अन्ततः सम्बन्ध टुट्यो ।
५ दिन अघिमात्रै आत्महत्या गरेकी भनिएकी उनकी म्यानेजर दिशा सालियनको अनुसन्धानका क्रममा सुशान्तसँग पनि सोधपुछ गरिएको थियो । प्रहरीलाई दिएको जानकारीअनुसार सुशान्तको आत्महत्या हुँदा उनका साथीहरू पनि उनकै घरमा थिए । साथीहरू घरमै भए पनि सुशान्त उनीहरूसँग नबसी केही समयदेखि एक्लै कोठामा बसिरहेका थिए ।
तर लामो समयसम्म कोठा बाहिर नआएपछि साथीहरूले सुशान्तलाई लगातार फोन गर्न थाले । तर फोन नउठेपछि कोठाको ढोका फोरेर भित्र गएका थिए । जहाँ झुन्डिएको अवस्थामा उनको शव फेला पर्यो । घटनापछि उनको घरका कामदारले मुम्बई प्रहरीलाई जानकारी दिएका हुन् ।
(नवभारत टाइम्स)