काठमाडौं । अमेरिकाका एक वरिष्ठ सैनिक कमाण्डरले अमेरिकी सेना फिर्ता भएपछि अफगानिस्तानमा गृहयुद्ध हुनसक्ने चेतावनी दिएका छन् ।
पछिल्लो केही समययता निरन्तर अमेरिकाको गठबन्धनमा आबद्ध मुलुकले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गरिरहेका छन्। यसैबीच, अफगानिस्तानमा तालिबानले पनि आफ्नो कब्जा बढाउँदै लगेको छ।
तालिबानले राज्यको राजधानीबाहेक सबै क्षेत्रमा आफ्नो नियन्त्रण रहेको बताएका छन्। अमेरिकी जनरल स्कट मिलरले भने,‘अफगानिस्तानमा परिस्थिति ठीक छैन। यदि तालिबानले यसरी नै कब्जा जमाउँदै लगे गृहयुद्ध हुने निश्चित छ ।’
उनले अफगानिस्तानको राजनीतिक नेतृत्वले जनतालाई एकजुट गर्न सकेन भने आउँदो समयमा देशले कठिन अवस्थाको सामना गर्नुपर्ने भन्दै सचेत गराए।
अमेरिका र नेटाका सदस्य राष्ट्रहरुले आउँदो सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट सैनिक फिर्ता लैजाने तयारी गरेका छन् र त्यसमा उनीहरु प्रतिवद्ध रहेको बताउँदै आएका छन् ।
यद्यपि, अफगानिस्तानमा आगामी सेप्टेम्बरपछि पनि ६५० अमेरिकी सैनिक बस्ने भएका छन् । समाचार एजेन्सी एपीका अनुसार कूटनीतिक अधिकारीको सुरक्षाको लागि उक्त संख्यामा अमेरिकी सैनिक अफगानिस्तानमा रहने भएका हुन्।
यता, गएको मे यता अफगानिस्तानका ३७० जिल्ला मध्ये ५० जिल्लामा तालिबान बिद्रोहीले हिंसात्मक आक्रमण गरेको राष्ट्रसंघका विशेष दूत डेबरा लायन्सले सुरक्षा परिषद्लाई जानकारी दिएकी छिन्।
तालिबानले हाल नियन्त्रण कायम गरेका जिल्लाहरु क्षेत्रीय राजधानी वरपरका रहेको र विदेशी सैनिक फिर्ता गए लगत्तै ती राजधानीहरुमा नियन्त्रण कायम गर्ने लक्ष्य तालिबानको हुन सक्ने उनको भनाइ छ।
यस्तै, तालिबानले पनि आफ्नो नियन्त्रणमा १०० जिल्ला रहेको दाबी गरेको छ। यद्यपि, अमेरिकी सेनाले तालिबानमाथिको हवाई आक्रमण जारी राखेको छ।
‘हामीले हवाई आक्रमण जारी राखेका छौं। तर, हामी हवाई हमला गर्न चाहदैनौं। यो सबै रोक्नका लागि पहिले हामीले यो सुनिश्चित गर्नुपर्छ त्यहाँ कुनै हिंसा छैन,’ जनरल मिलरले भने।