बागलुङ, ५ भदौ । बागलुङमा डेंगुका विरामी बढ्न नदिनका लागी लामखुट्टेको बासस्थान खोज र नष्ट गर्ने अभियान सुरु गरिएको छ । जिल्लामा बढ्दो डेंगुका विरामी र त्यसको नियन्त्रणका लागी यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदिले जानकारी दिए । पहिलो चरणमा बुधबार बागलुङ नगरपालिकाको बजार क्षेत्रमा खोज र नष्ट गर अभियान गरिएको हो । बुधबारदेखि शुरु भएको अभियानमा स्थानीय तह, जिल्ला प्रशासन, सशस्त्र र जनपथ प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, टोल सुधार समिति सहभागी थिए । आफ्नो क्षेत्रमा सफाइ अभियान चलाउँदा विद्यार्थी र शिक्षक पनि सहभागी भएका थिए ।
मोटर ग्यारेजका टायरमा जमेको पानी हटाउने, घरघरमा भाँडामा राखिएको तर नपोखिएको पानी हटाउने, लार्भा देखिए नष्ट गर्ने काम भएको हो । ग्यारेज क्षेत्रमा यसअघि पनि पानी जन्मे गरी टायर नराख्न सुझाव दिइएको थियो । पटक पटकको आग्रहमा पनि टायर जथाभावी राखेको देखिएमा कारवाही गर्ने सहायक प्रजिअ चित्राङगत बराल बताए ।
बुधबार पहिलो चरणको काम थालेपनि हरेक शुक्रबारको बिहानी २ घण्टालाई खोज र नष्ट गर अभियानकै रुपमा चलाइने बरालको भनाइ छ । सदरमुकाम बागलुङ बजारमा मात्र नभइ गलकोट, बुर्तिवाङसम्मै यो अभियान चल्नेछ । हाल गलकोटमा सबैभन्दा धेरै डेंगीका बिरामी देखिएका छन् । जिल्लामा ७० संक्रमित देखिंदा गलकोटमा मात्रै ४६ जना छन् । त्यसपछि बढी सदरमुकाममा रहेका हुन् ।
त्यस बाहेक फोहोरको उचित बिर्सजन नहुँदा पनि भुसुनाको कारणले अन्य रोगहरु पनि लाग्ने गरकोले जनचेतनाको अभियान पनि चलाइने हो । ठूला स्थानमा पुगेर सफाइ गर्नुभन्दा घर भित्रैको पानी धेरै दिनदेखि नफेरेमा पनि डेंगीको समस्या हुने गरेको हो । त्यसका लागि नमूनाको रुपमा घरका छत र पूजा कोठासम्म पुगेर अनुगमन गर्ने समेत स्वास्थ्यकर्मीहरुले बताए ।
पहिलो दिनको कार्यक्रमले धेरैलाई सचेत बनाएको बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिृकत धनप्रसाद पोखरेलले बताए । नगर क्षेत्रमा नउठेको फोहोर पनि बुधबार उठाइएको थियो । बजारमा चल्ने अटो सहितका सवारी साधनमा पनि डेंगीबारे सचेतना अभियानका व्यानर टाँगिएका थिए । सचेतना अभियानमा लायन्स क्लबहरु, लियो क्लब तथा युवा क्लबका सदस्य पनि सहभागि थिए ।