बागलुङ, ४ चैत । बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचन समितिले मंगलबार (चैत ५ गते) हुने मतदानको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
निर्वाचनको लागि मतपत्र छपाई, मतदाता संख्या, मतदानको लागि मतदान स्थान निर्माण कार्य सक्किएको निर्वाचन अधिकृत गोविन्दराज गौतमले जानकारी दिनुभयो । उहाँले निर्वाचनमा धवलागिरि बहुमुखी क्याम्पसका १ हजार ४ सय ७० जना विद्यार्थी मतदाता रहेको बताउनुभयो ।
मतदानको लागि क्याम्पस परिसरमा तारबार लगाइएको छ । मतदान केन्द्रको सुरक्षा व्यवस्था समेत कडा पारिएको निर्वाचन अधिकृत गौतमले बताउनुभयो । उहाँले मतदानको दिन क्याम्पसको पश्चिम (मुल गेट) गेटबाट मतदान गर्ने मतदाता र आधिकारिक व्यक्तिलाई मात्र प्रवेश दिइने र दक्षिण गेटबाट बाहिर निस्कने व्यवस्था मिलाइएको बताउनुभयो ।
धवलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) नेतृत्वका लागि पहिलो पटक दुई महिला उम्मेदवार मैदानमा उत्रिएका छन् । स्ववियु निर्वाचनमा अध्यक्ष पदको लागि अखिल संयुक्त प्यानलबाट अनेरास्ववियुकी आश्मिन शेख र नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघबाट सृष्टि आचार्यले उम्मेदवारी दिनुभएको हो । कांग्रेसले नेविसंघको एकल प्यानल बनाएको हो भने एमाले, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एस र राप्रपाको संयुक्त प्यानल बनेको हो ।
अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेविसंघका नेता दिपक सुवेदीले गतशुक्रबार उम्मेदवारी फिर्ता लिएको र नेविसंघकी उम्मेदवार आचार्यलाई समर्थन गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो । सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि क्याम्पसमा पहिलो पटक छात्रा अर्थात् महिला स्ववियु सभापति पाउने अवस्था पनि बनेको छ । नेविसंघले हालकी कोषाध्यक्ष सृष्टी आचार्यलाई उमेदवार बनाएको होभने अखिल संयुक्तबाट हालकी सदस्य तथा अनेरास्ववियु जिल्ला सचिवालय सदस्य आश्मिन शेखलाई उमेदवार बनाएको छ । दुवैजना स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी हुन् ।
यस्तै अखिल संयुक्तबाट प्रत्यक्ष तर्फ सचिवमा रुद्रबहादुर पुन र कोषाध्यक्षमा रेखा शर्माले उमेदवारी दिनुभएको छ । सदस्यहरुमा विकल्प घर्ती मगर, सृष्टि क्षेत्री, दिपिका खड्का, सन्दिप बहादुर थापा, सुभम जिसी, भुषन थापा, सुधन विश्वकर्मा र किस्मत घर्ती मगरले उमेदवारी दिनुभएको छ ।
नेविसंघबाट प्रत्यक्ष तर्फ सचिवमा सचिन हरिजन र कोषाध्यक्षमा विशाल थापा र सदस्यहरुमा दिपसागर सुवेदी, प्रशान्त सुवेदी, सृष्टि घर्ती, सुदिप घर्ती, सुवासबावु घर्ती मगर, सुभम राजभण्डारी, मनिषा घर्ती र सेमान्त पौडेलले उमेदवारी दिनुभएको छ ।
यस्तै समानुपातिक तर्फ अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अखिल (छैठौं), स्वतन्त्र विद्यार्थी समूह, ने.वि.संघ र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सहभागी छन् ।