बागलुङ, २७ वैशाख । बागलुङमा गण्डकी प्रदेश स्तरिय न्यायिक सम्मेलन बागलुङमा हुने भएको छ ।
प्रदेश भित्र रहेका न्यायिक समितिका संयोजकहरुको सम्मेलन आइतबारदेखि बागलुङ बजारमा गरिदै छ ।उक्त सम्मेलनको उद्घाटन गर्नका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुहुने भएको छ ।
सम्मेलनमा संविधान विद काशीराज दाहाल, प्रदेशका मुख्यन्यायाधिवक्ता चिरन्जिवी शर्मा, नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले न्यायिक समिति र मेलामिलाप, प्रदेशमा न्यायिक कार्यसम्पादनमा एकरुपता तथा गण्डकीको समृद्धिः पर्यटन न्याय र शान्ति विषयमा सहजिकरण गर्ने कार्यक्रम रहेको बागलुङ नगरपालिका नगर उपप्रमुख राजु खड्काले बताए ।
बागलुङ नगरपालिकाका न्यायिक समितिद्वारा आयोजित सम्मेलनले मुलत गण्डकी प्रदेशमा रहेका ८५ स्थानीय सरकारहरुको न्यायिक कार्यसम्पादनमा एकरुपता कायम गरी काम गर्ने विषयमा सम्मेलन केन्द्रित रहने खड्काले बताए । सम्मेलनको तयारी पूरा भएको बताइएको छ । सम्मेलन सोमबार बागलुङ घोषणा पत्र जारी गर्दै सकिनेछ ।
प्रसिद्ध शक्तिपिठ कालिका मन्दिर प्रवेशद्धारमा रहेको कालिका मल्टिप्यालेसमा मुख्यमन्त्री पाण्डेले बिहान ११ बजे सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको उपप्रमुख खड्काले बताए