बागलुङ , २३ कार्तिक । बागलुङ नगरपालिका–५ स्थित श्री गण्डकी गोपाल गोवंश संरक्षण केन्द्रमा चतुर्मासको अवसर पारेर अखण्ड दिव्य श्रीविष्णुसहस्रनाम पाठपारायण गरिएको छ । गत असार २२ गते हरिशयनी एकादशीदेखि सुरु भएको उक्त पाठपारायण आइतबार समापन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विभिन्न जिल्लाका गुरुजनहरुबाट चार महिनासम्म निरन्तर १४ हजार आवृत्ति पाठ गरिएको श्री विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष जगन्नाथ आचार्यले जानकारी दिए । उक्त अवधिमा भगवान विष्णुका एक हजार पवित्र नामलाई एक करोड ४० लाखपटक पाठ गरिएको हो ।
आइतबार श्रीविष्णुसहस्रनाम पाठपारायणको महापूर्णाहूति, तिलकप्रसाद वितरण, महाअभिषेक एवं गुरुजन र पत्रकार सम्मान कार्यक्रम आयोजना गरिएको पाठपारायणका सङ्कल्पकर्ता श्रीकृष्णमुरारी आचार्यले बताए । वैदिक सनातन धर्म र गौमाता संरक्षणको सन्देश दिने उद्देश्यले श्रीविष्णुसहस्रनाम पाठपारायणको आयोजना गरिएको उनको भनाइ छ । उक्त अवसरमा अनन्तश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले यस वर्ष एकैसाथ विभिन्न ठाउँमा यज्ञ अनुष्ठान सम्पादन भइरहेको बताए ।
वैदिक सनातम धर्मको रक्षा, गौवंश र जलसम्पदाको संरक्षण एवं धार्मिक पर्यटन प्रवद्धनको उद्देश्य लिइएको उनको भनाइ छ । अहिले पर्वतको जलजला गाउँपालिका–५ हम्पालमा पनि कालाञ्जर महायज्ञ भइरहेको जनाइएको छ । मुस्ताङको मुक्तिनाथमा आयोजित श्रीमुक्तिनाथ षाड्मासिक महायज्ञ र भक्तपुरको श्रीपञ्चमहालक्ष्मी मन्दिर श्रीपीठम्मा श्रीमद्वाल्मीकीय रामायण ज्ञानमहायज्ञ भने सम्पन्न भइसकेको छ ।
सर्वसिद्धिधाम पञ्चकोटसँगै २०७१ सालमा स्थापना गरिएको गण्डकी गोपाल गोवंश संरक्षण केन्द्रमा हाल ५५ वटा स्थानीय जातका गाई रहेका छन् । वैदिक संस्कृतिमा महत्वपूर्ण मानिने गाईको संरक्षणका लागि गोवंश संरक्षण केन्द्र स्थापना गरिएको हो ।











