बागलुङ, १५ मंसिर । बागलुङमा जारी तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् ।
आज भएको खेलबाट बेनी नगरपालिका, गण्डकी प्रदेश प्रहरी पोखरा र पैयुँ गाउँपालिकाले जित हात पारे ।
पहिलो खेलमा जैमिनी नगरपालिका अनुपस्थित भएपछि बेनी नगरपालिका म्याग्दी क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेल समयमा जैमिनी नगरपालिकाको टिम मैदानमा उपस्थित नभएपछि बेनीलाई विजेता घोषणा गरिएको थियो ।
बेनीले मंगलबार आयोजक बागलुङ नगरपालिका (सेतो)सँग खेल्ने छ ।
सोमबारको दोस्रो खेलमा गलकोट नगरपालिकालाई पराजित गर्दै विभागिय टिम गण्डकी प्रदेश प्रहरी अन्तिम आठमा प्रवेश गरेको छ । बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ र रन्दिप पौडेलसहित मैदान प्रवेश गरेको प्रहरीले टाइब्रेकरमा ४–२ को जित निकाल्यो ।
प्रहरीको लागि सन्दिप तामाङ, सरोज टिटुङ, अंकित गुरुङ, केशव बरामले गोल गरे । गलकोटको लागि गलकोटको लागि अंकित थापा र सुमन टेलरले गोल गरे । प्रहरीले मंगलबार सेमिफाइनल प्रवेशको लागि कटारी नगरपालिका उदयपुरसँग खेल्ने छ ।
यस्तै सोमबार नै भएको तेस्रो खेलमा पर्वतको पैयुँ गाउँपालिकाले विभागिय टिम कालिजंग गणलाई टाइबेकरमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्यो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकर पैयुँले ३–२ को जित निकाल्यो ।
टाइब्रेकरमा पैयुँको लागि सागर थापा, समिर नेपाली र सन्देश तामाङले गोल गरे । कालिजंग गणको लागि नरेशलाल माझे र अजय थापाको गोल गरे । पैयुँले बुधबार बेनी नगरपालिका र बागलुङ नगरपालिका (सेतो) विचको विजेता टिमसँग खेल्ने छ ।
बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले ३ लाख ३३ हजार ३ सय ३३ रुपियाँ र उपविजेताले २ लाख २२ हजार २ सय २२ रुपियाँ प्राप्त गर्ने छन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट प्रशिक्षकले १०–१० हजार रुपियाँ प्राप्त गर्नेछन् । खबरवे डटकमबाट साभार













