बडिगाड, १४ माघ । नेकपा एमाले निसिखोला गाउँकमिटिको विस्तारित बैठकले प्रदेश कमिटि सदस्य टंक प्रसाद पौडेलको संयोजकत्वमा ३ सय ११ सदस्यिय पालिका स्तरीय निर्वाचन परिचालन कमिटिको गठन गरेको छ।
गाउँकमिटि अध्यक्ष भूमिराज गौतम सचिव रहेको सो कमिटिमा निसिखोला गाउँपालिका भित्र रहेका जिल्ला कमिटि, गाउँकमिटि र वडा कमिटिका सदस्य तथा टोल कमिटिका संयोजक तथा जनवर्गिय संगठनका प्रमुखहरु सदस्य रहने एमालेले जनाएको छ।
बैठकले जिल्ला कमिटि सदस्य भोटु चन्द संयोजक तथा अनेमसंघ निसिखोलाका अध्यक्ष रुपा कुमारी पौडेल सचिव रहेको १ सय ११ सदस्यिय महिला परिचालन कमिटि, युवा संघका प्रदेश कमिटि सदस्य सन्तोष रेग्मी संयोजक, युवा संघ गाउँकमिटि अध्यक्ष नविन थापा सचिव रहेको ५१ सदस्यिय युवा परिचालन कमिटि गठन गरेको छ।
त्यस्तै निर्वाचनको लागि वडा नं. १ मा थम बहादुर घर्ति, वडा नं. २ मा जुनविक्रम शाहि, वडा नं. ३ मा भोटु चन्द, वडा नं. ४ मा रुद्र पौडेल, वडा नं. ५ मा भूमिराज घर्ति, वडा नं. ६ मा लिल बहादुर बुढा, खुमन थापा र राम बहादुर विक लाई वडा समन्वयको जिम्मेवारी तोकिएको निर्वाचन परिचालन समितिका संयोजक विष्णु भुसालले जानकारी दिनुभएको छ।
त्यस्तै बैठकले निसिखोला गाउँपालिकामा माघ १९ गते वडा नं. ५ र ६, २० गते वडा नं. ३ र ४, २१ गते वडा नं. १ र २ तथा २२ गते वडा नं. ७ मा वडा स्तरीय भेटघाट सञ्चालन गर्ने तथा २५ गते सबै वडामा एकैसाथ वडा स्तरीय बैठक संचालन गर्ने निर्णय गरेको छ।
बुधवार भएको निसिखोलाको विस्तारित बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नं. २ का उमेद्वार मञ्जु शर्मा चालिसेले भौगोलिक विकटतालाई विविधताको सुगमतामा बदल्दै, अवसर पहिचान गर्न आफ्नो उमेदवारी रहेको बताउनु भएको छ। लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभवलाई सेवामा रुपान्तरण गर्दै पछाडिपरेको समुदायलाई मुलधारमा ल्याउन प्रतिवद्ध प्रयत्न गर्ने बताउनु भएको छ।
त्यस्तै प्रदेश कमिटि सचिवालय सदस्य सुनिल शेरचनले राष्ट्रहितको लागि एमालेको बहुमतको सरकार आवश्यक रहेको भन्दै सुर्य चिन्हमा मतदान गर्न मतदाताहरुलाई अपिल समेत गर्नुभएको छ। कार्यक्रममा प्रदेश कमिटि सचिवालय सदस्य बाबुराम नेपाली, प्रदेश कमिटि सदस्य टंक पौडेल, जिल्ला कमिटिका कार्यवाहक अध्यक्ष विष्णु भुसालले राष्ट्रियता र स्वाधिनताको रक्षा संगै देशको समृद्धिको लागि एमालेको आवश्यकता बढि खड्कीएको भन्दै विभिन्न भ्रम चिर्दै जनतामा पुग्नु सवै पार्टि कार्यकर्ताको दायित्व हुने बताउनु भएको छ।
बैठकमा वडा इन्चार्जहरुले वडा स्तरको अवस्था जानकारी गराउनुभएको थियो। कार्यक्रम गाउँकमिटि अध्यक्ष भूमिराज घर्तिको अध्यक्षता, उपाध्यक्ष वेग बहादुर कुँवरको स्वागत मन्तव्य तथा सचिव लोकिश्वर पौडेलको संचालनमा सम्पन्न भएको थियो।













