बागलुङ, २९ जेठ । बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बागलुङको आयोजनामा अभ्यासमा उद्दार, उपचार, व्यवस्थापन, राहत र पुनःस्थापना जस्ता चुनौतीपूर्ण पक्षलाई व्यवस्थित गर्ने उपायहरू प्रदर्शन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालष् बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी नवराज बरालले विपद् पूर्वको तयारी, उद्दार प्रक्रिया, स्वास्थ्य उपचार, सूचना र सञ्चार, राहात र पुनःस्थापना जस्ता पक्षलाई व्यवस्थित र सरोकारवालाई संवेदनशिल बनाउन यस प्रकारको अभ्यास गरिएको बताउनुभएको थियो ।
विपद् आउनुअघि आवश्यक उपकरण, तालिम र जनशक्ति तयारीमा राख्ने, नदी, खोला वा पहिरोमा फसेका व्यक्तिलाई सुरक्षित स्थानमा पुर्याउने तरिका, घाइतेलाई प्राथमिक उपचार र अस्पतालसम्म पुर्याउने व्यवस्था, प्रभावितलाई तत्काल खाद्यान्न, पानी, वस्त्र र आश्रय उपलब्ध गराउने, विपद्पछि प्रभावित परिवारलाई दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्ने र विपद् पूर्व र विपद्पछि समेत भ्रामक सूचना फैलिन नदिन प्रभावकारी सञ्चार व्यवस्थापन गर्नका लागि यस प्रकारको अभ्यास महत्वपूर्ण हुने निमित्त प्रजिअ बरालले बताउनुभयो ।
बागलुङ नगरपालिका–१ निरयघाटमा गरिएको अभ्यासमा कालिगण्डकी नदी थुनिँदा वा बाढीमा फसेका व्यक्तिहरुलाई कसरी सुरक्षित उद्दार गर्ने भन्नेबारे प्रत्यक्ष डेमो देखाइएको थियो ।
प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी तथा स्वयंसेवक, विद्यार्थी र सञ्चारकर्मीको संयुक्त सहभागितामा गरिएको अभ्यासले विपद् व्यवस्थापनमा बहु–संस्थागत सहकार्यको आवश्यकता स्पष्ट पारेको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले बताउनुभयो । समयमै तयारी, संस्थागत सहकार्य र नागरिक सचेतनाले विपद् नियन्त्रणलाई सहज बनाउन सक्ने उहाँको भनाई थियो ।













