टोकियो ,जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको आसन्न छैटौं अधिवेशनको तयारी तीव्र पारिएको छ।
आईतबार टोकियोमा सम्पन्न शाखा बैठकले अधिवेशन सञ्चालन, प्रमुख अतिथि निर्धारण, सहभागिता शुल्क, उम्मेदवारी शुल्क लगायतका विषयमा महत्वपूर्ण निर्णय गरेको छ।
शाखाका अध्यक्ष शान्त कुमार पहारीका अनुसार नयाँ कार्यसमिति चयनका उद्देश्यले अधिवेशन नोभेम्बर २३ तारिख (आईतबार)का दिन टोकियोमा आयोजना गरिने भएको छ।
बैठकले अधिवेशनबाट सर्वसम्मत कार्यसमिति चयन गर्न आवश्यक पहलका लागि संस्थापक अध्यक्ष तिलक मल्ललाई संयोजक, निवर्तमान अध्यक्ष मोहन घले, अध्यक्ष शान्त पहारी, र खगराज गौतमलाई सदस्यको जिम्मेवारी दिने निर्णय गरेको छ।
त्यसैगरी, अधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउनका लागि खगराज गौतम संयोजक, पूर्ण चलाउने, र खड्कसिं गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ।
बैठकले आसन्न अधिवेशनलाई सफल बनाउन जापानभर रहेका नेपाली पत्रकारहरूलाई सक्रिय सहभागिताको आह्वान गरेको छ।
महासंघले यो अधिवेशनलाई जापानस्थित नेपाली पत्रकारिताको सुदृढीकरण र एकताको प्रतीकका रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ।
								
															











