बागलुङ, ६ माघ । फागुन २१मा गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर १ मा ११ जनाले मनोनयन दर्ता गराएका छन् ।
मंगलबार जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरी संयुक्त उम्मेदवारी दिएका छन्भने नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले भने एकल रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर १ मा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद अधिकारी, नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर के.सी., नेपाली काँग्रेसका केन्द्रीय सदस्य भिम बहादुर श्रीस राना, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्यले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक., मंगोल नेशनल अर्गनाइजेशनका गुमाकुमारी बुढा राना मगर, प्रगतिशिल लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेशनल रिपब्लिक नेपालका सहविर थापा, श्रमसंस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का टेकबहादुर के.सी.ले उम्मेदवारी दर्ता गराउनुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
राजनीतिक दलहरुले नारा जुलुस सहित मुख्य निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए ।













