बागलुङ, १३ चैत । बागलुङको धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित चैतेदशैँ मेला गत मंगलबारदेखि सञ्चालन भइरहेको छ। करिब तीन सय वर्ष पुरानो इतिहास बोकेको यो मेला केबल धार्मिक आस्थाको केन्द्र मात्र नभई स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै आएको छ।
प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर परिसरमा लाग्ने यस मेलामा परम्परागत रूपमा गाउँघरमा उत्पादन गरिने डाला, नाङ्ला, ठेकीलगायत सामग्रीको किनबेच हुँदै आएको छ। मेला भर्न आएका भक्तजनहरूले घरायसी प्रयोग, र सजावटका लागि यस्ता सामाग्री किनेर लैजाने गरेका छन् । स्थानीय रुपमा उत्पादन गरिएका यस्ता सामाग्रीको खरिदबिक्रीले स्थानीय सीप र उत्पादनलाई संरक्षण गर्दै आएको छ।
आफैले उत्पादन गरेका नाङ्ला र डाला प्रत्येक वर्ष लाग्ने चैतेदसैँ मेलामा बिक्रीका लागि आफूले ल्याउने गरेको बडिगाड गाउँपालिकाका सन्तोष विश्वकर्माले बताए । उनले वर्षभरि खेतिपातीबाट बचेको समयमा आफूले डाला, नाङ्ला बुन्ने गरेको बताउँदै यस्ता मेला महोत्सवले स्थानीय उत्पादनको बिक्रीका लागि सहयोग पुगेको बताए ।
मेलामा विशेष गरी बाँस तथा चोयाबाट बनेका डाला र नाङ्ला स्थानीय पहिचानका रूपमा चिनिन्छन्। यस्ता सामग्रीले बागलुङको मौलिक संस्कृति, सीप र जीवनशैली झल्काउने भएकाले मेला भर्नेहरूमाझ आकर्षण बन्ने गरेको छ । म्याग्दी मराङका प्रकाश लामगादेले आफूले उत्पादन गरेका काठँका ठेकीलगायतका सामानहरु मेलामा राम्रो मूल्यमा बिक्री गरेको सुनाए । उनले वर्षौँदेखि मेलामा घरेलु उत्पादनका सामान बिक्री गर्दै आइरहेको बताए ।
चैतेदसैँ मेला अझै पनि बागलुङको पहिचान, संस्कृति र स्थानीय उत्पादनको संरक्षण गर्ने महत्वपूर्ण थलोका रूपमा परिचित छ । यसलाई निरन्तरता दिनका लागि आफुहरुले स्थानिय उत्पादनलाई बिक्री वितरणका लागि राम्रो प्रबन्ध मिलाएको कालिका भगवती गुठी व्यवस्थापन समितिका भुपेन्द्र खड्काले बताए । स्थानीय तह तथा सरोकारवालाहरूले मौलिक उत्पादनलाई प्रोत्साहन गर्ने नीति ल्याएमा डाला–नाङ्ला जस्ता परम्परागत वस्तुको पहिचान र संरक्षणमा टेवा पुग्ने देखिन्छ ।















