बागलुङ, २० चैत्रगण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले साना र स्वरोजगारमूलक सञ्चारमाध्यमलाई अप्ठ्यारो पर्ने गरी विज्ञापनमा रोक लगाउन खोज्नु गलत भएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ बागलुङले आयोजना गरेको बागलुङ मिडिया मेलाको उद्घाटन गर्दै उनले संसद्मा कमजोर प्रतिपक्ष, बलियो सरकार भएको अवस्थामा सञ्चार क्षेत्र झन् बलियो हुनुपर्ने बताए
ग पाण्डेले लोकतन्त्रमा स्वतन्त्र पत्रकारिताको सम्मान गर्नुपर्नेमा आदेशले मुख बन्द गर्ने प्रयास गर्न नहुने बताएका हुन् ।
मुख्यमन्त्री पाण्डेले कसैको आदेशलाई कानुन मान्न नसकिनेसमेत बताएका छन् । उनले संविधान र कानुनमाथि कोही नरहेको पनि टिप्पणी गरे । सञ्चार मन्त्रालयले गरेको हालैको परिपत्रलाई लक्षित गर्दै पाण्डेले एक महिना पनि नटिक्ने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले पनि सरकारको निर्णय निरंकुशतावादी भएको आरोप लगाए । ‘हामी न्युजरुममा बसेर काम गर्न चाहन्छौं, तर सरकारले सडकमा धकेल्दैछ,’ उनले भने, ‘सरकारसँग न्यूनतम प्रेस स्वतन्त्रताको विश्वास छ भने यो निर्णय फिर्ता गरोस् ।’ उनले वर्तमान सरकारको संघीयताप्रतिको विश्वास जाच्ने बेला आएको पनि बताए ।
मिडिया मेलामा १० वटा समूहगत छलफल, परम्परागत सञ्चार माध्यमको प्रदर्शनी, भित्तेपत्रिका प्रतियोगिता, फोटो प्रदर्शनी, सांस्कृतिक क्रियाकलापलगायत समावेश गरिएको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले बताए ।













