बागलुङ , २१ चैत्र , नेपाल पत्रकार महासंघ बागलुङले आयोजना गरेको दुई दिने मिडिया मेलामा १० बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । मेलामा पुरानो पत्रकारितादेखि नयाँ युगको पत्रकारिता सम्मको चर्चा गरिएको थियो । मेलामा चारसय भन्दा बढी पत्रकार र सयौ दर्शक सहभागी भएका थिए । नेपाल पत्रकार महासंघ बागलुङ शाखाद्धारा आयोजित बागलुङ मिडिया मेला–२०८२ले पत्रकारितालाई बदलिँदो समय र समाज सापेक्ष नयाँ दिशामा लैजान एक महत्वपूर्ण कोसेढुंगा सावित गरेको अध्यक्ष राम थापाले जानकारी दिनुभयो ।
गिद्दे प्रेसदेखि एआईसम्म, मिडिया स्वयंम्को संकटपूर्ण बहसदेखि सीमान्त आवाजसम्म, बागलुङको विकास र समृद्धिको भविष्यदेखि स्थानीय सरकारको खोजीसम्म, जननी जन्म भूमिश्चदेखि पत्रकार महासंघको संस्थागत विकाससम्मका १० सत्रमा बहस, विमर्श भएको छ । जसबाट विकसित मिडिया, माध्यम सहितको पत्रकारितामार्फत् उचित दिशा निर्देश र नयाँ सन्देश प्रवाह गर्न मिडिया मेला सफल भएको महासंघको ठहर छ ।
मिडिया मेलामा जारी भएको घोषणापत्रको पूर्ण पाठ
१. गिद्देप्रेसबाट सुरु भएको पत्रकारिता आजको डिजिटल युग एआईसम्म आइपुगेको छ । देशमा जस्तै पत्रकारितामा पनि परिवर्तन आइरहन्छ । पत्रकारिताको सबै भन्दा ठुलो कुरा समाचारको मूल्य मान्यता र विश्वास हो, यसको मूल्य मान्यता र नागरिकको विश्वास नरहे पत्रकारिता रहन्न । अतः मिडियाका नयाँ आयामहरुलाई स्वीकार र आत्मसाथ गर्दै सञ्चार संस्था र पत्रकारहरुलाई गुणस्तरिय तथा विश्वसनीय समाचार सामग्री लेखन÷उत्पादनमा जोड दिन मिडिया मेला आग्रह गर्दछ ।
२. बागलुङ जिल्लालाई डिजिटल साक्षरतामा उदाहरणीय र अग्रणी जिल्लाको रुपमा स्थापित गर्ने पवित्र सोच र अभियानमा सुखद अध्यायको रुपमा यस मेला भव्यताका साथ सम्पन्न भएको छ । यसलाई अबका दिनमा समय र प्रविधिको गति अनुसार पत्रकारिता, त्यसमा पनि डिजिटल मिडिया र सोसल मिडिया (सामाजिक सञ्जाल)को यथोचित उपयोग, जसमार्पmत् आयआर्जन, जीवनस्तरमा समेत टेवा पुग्ने नीति तथा कार्यक्रमका लागि तीनै तहका सरकारसँग मिडिया मेला माग गर्दछ ।
३. पत्रकारितामा अबको दिनमा मोफसल र केन्द्र भन्ने छैन, अब मोफसल सहित गाउँ, वडा तहसम्मका विकसित मिडिया र माध्यमसँगै समाचार सामाग्रीको गुणस्तर नै प्रमुख बन्ने भएकाले पत्रकार र सञ्चारमाध्यमहरू गुणस्तरीयतामा प्रतिबद्ध हुनुपर्ने ठहर गर्दछ ।
४. मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको निर्माणले बागलुङको विकास र समृद्धिको खाका कोरिएको छ, र नयाँ सम्भावनाहरुको ढोका खुलेको छ । अतः अब बागलुङको भविष्यका लागि यस मिडिया मेला कृषि, उद्यम, पर्यटन, जलबिद्युत लगायतका क्षेत्रमा ठोस पहलकदमी, लगानीको नीति, योजना तथा कार्यक्रममा जिल्लाबासीको एकता र अग्रसरताको आवश्यकता औँल्याउँछ । साथै, अब तत्काल कोरला नाका नियमित संचालन गरेर यसबाट गण्डकी प्रदेशले निर्यात बढाउन सक्ने र त्यसबाट आर्थिक समृद्दिमा टेवा पुग्ने भएकोले मिडियाले यो विषय उठान गरी सरकारलाई आवश्यक पहलकदमी र नीति निर्माण गर्न ध्यानाकर्षण गराउँछ ।
५. बागलुङमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न सफल विभिन्न क्षेत्रका व्यक्तित्वहरूको अनुभव, संघर्ष र योगदान साँच्चिकै गर्विलो र प्रेरणादायक छ । बागलुङ भित्र र जिल्लाबाट बाहिर रहेर विभिन्न क्षेत्रमा सफल भएका व्यक्तित्वहरूलाई आफ्नो ज्ञान, सीप, अनुभव र स्रोतसाधन जन्मभूमिको विकास, समृद्धि र पहिचान अभिवृद्धिमा लगानी गर्न आह्वान गरिन्छ । साथै, मिडियामार्फत यस्ता प्रेरणादायी कथाहरूको प्रवद्र्धन गर्दै ‘जन्मभूमिसँगको सम्बन्ध र योगदान’लाई संस्थागत रूपमा सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
६. डिजिटल मिडिया÷प्लाटफर्म आधारभूत आवश्यकताका सूचना आदान–प्रदान, मनोरञ्जनको साधन मात्रै होइन, मिडिया र मिडियाकर्मीका लागि व्यावसायिक रुपमा आम्दानीको दायरा फराकिलो बनाउने अवसर, सम्भावना पनि सँगै आएकाले गुणस्तरीय समाचार सामग्री उत्पादन÷प्रकाशन÷प्रसारणमा डिजिटल मिडिया र माध्यमको बहुआयामिक प्रयोगमा सञ्चार गृह र पत्रकारलाई ठोस योजना सहित क्षमता विकास र प्रभाव विस्तारमा लगानी बढाउन आग्रह गर्दछ ।
७. सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै सीमित गर्ने संघीय सरकारको निर्णय संघीयता, खुल्ला अर्थनीति, प्रेस स्वतन्त्रताको भावना र मर्म विपरित भएकाले प्रदेश सरकार, स्थानीय तहहरुलाई केन्द्र सरकारको परिपत्र अस्वीकार गर्न आव्हान गर्दछ । यसले स्वरोजगारमूलक मिडिया, यसमा कार्यरत पत्रकारहरुलाई थप संकटग्रस्त अवस्थामा पु¥याउने भएकाले यो मेला आपत्ति प्रकट गर्दै यसको विरुद्धमा उभिने प्रण गर्दछ ।
८. समाचारका लागि खोजेका सामाग्रीलाई डिजिटल मिडियाका अन्य विधा र माध्यममा समेत प्रयोग गरेर पत्रकारहरुले रचनात्मक रुपमा अधिक नागरिकको बिचमा पृथक पहिचानसँगै ‘नाम पनि, दाम पनि’ कमाउन सक्ने अवसरको अधिकतम उपयोग गर्न पत्रकार÷सञ्चारकर्मीहरुलाई आग्रह गर्दछ ।
९. प्रविधिगत परिवर्तनका कारण स्थानीय स्तरका धेरै स्वरोजगारमूलक मिडिया बन्द हुने वा जोखिममा पर्ने अवस्थामा पुगेकाले समयसापेक्ष रुपान्तरण गर्न सञ्चार संस्था सञ्चालकहरूलाई आग्रह गर्दछ । साथै, स्थानीय सञ्चारमाध्यमको दर्ता, सञ्चालन र सबलीकरणमा स्थानीय तहको यथोचित स्थानीय सञ्चार नीति आवश्यक रहेकोमा ध्यानाकर्षण गराउँछ ।
१०. मिडिया मेला उद्घाटन गर्नु उपस्थित हुनुहुने प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, स्वास्थ्य मन्त्री कृष्ण पाठक, नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहाल, पूर्व अध्यक्ष धर्मेन्द्र झा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत सम्पूर्ण अतिथि, प्यानलिस्ट, सहजकर्ता तथा पत्रकार, मेला भव्य रुपमा सम्पन्न गर्न प्रत्यक्ष परोक्ष रुपमा सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।















