बागलुङ, ३० जेठ । बागलुुङमा पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
तेक्वान्दो संघ बागलुङको आयोजनामा प्रथम धवलागिरि पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले सहभागी सम्पूर्ण खेलाडीलाई शुभकामना व्यक्त गर्नुभयो। उहाँले खेलकुदले खेलाडीमा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्ने भन्दै सफल जीवन निर्माणका लागि खेलकुद महत्वपूर्ण माध्यम रहेको बताउनुभयो।
खेल क्षेत्रको समग्र विकासका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै सुवदीले प्रदेशस्तरमा खेलकुदमैत्री बजेट विनियोजनका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तेक्वान्दो संघ बागलुङका उपाध्यक्ष सुदीप राजभण्डारीका अनुसार धवलागिरि क्षेत्रका आठ पालिकाबाट २४८ खेलाडी सहभागी रहेको प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ।
उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले खेलकुदमार्फत युवाहरूलाई सकारात्मक मार्गतर्फ अग्रसर गराउन यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमका अवसरमा कभर्ड हल निर्माणका लागि जग्गा व्यवस्थापन तथा भवन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संघले बाबुलाल शाक्य र दीपेन्द्र बास्कोटा लाई सम्मान गरेको छ।
तेक्वान्दो संघ बागलुङकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा उपाध्यक्ष सुमन बास्कोटा ले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उपाध्यक्ष सुदीप राजभण्डारीले गर्नुभएको थियो ।













