दमौली, १ माघ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले तनहुँ जिल्लामा सञ्चालित होटल वर्गीकरण गर्न थालेको गरेको छ ।
होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम कार्यालयले होटल तथा रेष्टुरेन्ट वर्गीकरण गर्न थालेको हो । कार्यालयले पहिलो चरणमा दमौलीमा सञ्चालित पाँच होटल तथा रेष्टुरेन्टमा स्टिकर टाँसेको कार्यालय प्रमुख शिवजी बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार होटल पञ्चम र सासा इनमा उत्तम तथा टीका तास घर, मुनलाइट रेष्टुरेन्ट एण्ड विन्स क्याफे र हरि मिष्ठान्न भण्डारमा सन्तोषजनक लोगोसहितका स्टिकर टाँसिएको हो । प्रमुख बरालले भन्नुभयो, “अनुगमन र मूल्याङ्कनलाई आधार मानेर स्टिकर टाँसिएको हो, अन्य होटलमा समेत विस्तारै स्टिकर टाँसिने छ ।”
उहाँका अनुसार होटल तथा रेष्टुरेन्टको बाहिरी परिधिको सरसफाइको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण तथा ढल निकासको व्यवस्थित प्रणालीलगायतलाई मूल्याङ्कनको आधार बनाइनेछ ।
वर्गीकरणका लागि निर्देशिकामा उल्लेख गरिएका ५० प्रश्नको उत्तर दिने क्रममा सबैभन्दा बढी अङ्क ल्याउने व्यवसायलाई अति उत्तम, त्यसपछि उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीको प्रमाणपत्रको लोगो दिइन्छ । अति उत्तम श्रेणीको होटल–रेष्टुरेन्टले तीन तारा र (क) सहित अतिउत्तम लेखिएको हरियो स्टिकर पाउनेछ । यो लोगोे पाउन होटल रेष्टुरेन्टले तोकिएको मापदण्ड बमोजिम ९० भन्दा बढी अङ्क प्राप्त गर्नुपर्छ ।
त्यस्तै उत्तम श्रेणीको खाद्य व्यवसायले दुई तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टिकर पाउनेछन् । यस्तो लोगोे पाउन ८० भन्दामाथि ८९ सम्म अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । यसैगरी मध्यम श्रेणी (सन्तोषजनक)को लोगो पाउन ६५ देखि ७९ बीचको अङ्क प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटल रेष्टुरेन्टले एउटा तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर पाउनेछन् ।
सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ । यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीचको अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउनयोग्य पानीको व्यवस्थालगायत पनि मूल्याङ्कन मापदण्डमा उल्लेख छ ।
टर्मिनल भवन शिलान्यास
तनहुँको व्यास नगरपालिका–१ करङकाठस्थित बसपार्कमा टर्मिनल भवन निर्माण हुने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागको रु तीन करोड १५ लाखको लागतमा निर्माण हुनलागेको टर्मिनल भवन आज व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले शिलान्यास गर्नुभयो ।
अठार महीनामा निर्माण सम्पन्न गर्ने गरी कान्छाराम कन्ट्रक्सन प्रालिले टर्मिनल भवन निर्माणको ठेक्का पाएको छ । निर्माण कम्पनीका प्रतिनिधि इञ्जिनीयर सुवर्ण श्रेष्ठका अनुसार साढे दुई तले टर्मिनल भवनमा ४६ बस अटाउने छ । उहाँका अनुसार टर्मिनल भवन वरपर एघार स्टल र फुटपाथसमेत निर्माण गरिनेछ ।
लामो तथा छोटो दूरीका सवारीसाधनलाई व्यवस्थित गर्न सो टर्मिनल भवन निर्माण गर्न लागिएकोे नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माण भएपछि बसपार्क हुँदै बाहिरिने र लामो तथा छोटो दूरीका बस रोक्न सुविधा पुग्नेछ । रासस