मुस्ताङ । भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको उपल्लो मुस्ताङ क्षेत्रमा हिमपातको कष्टले सयौं चौरीहरु मरेका छन् । स्थानीय किसानले उच्च हिमाली क्षेत्रमा पाल्दै आएका चौरीहरु हिमपातमा पुरिएर र लडेर मर्ने गरेका हुन् । महिनादिनसम्म लगातार परेको हिमपातका कारण बासस्थान, आहाराको अभावका कारण चौरीहरु मर्ने गरेको स्थानीय किसान पेमा छिरिङले बताउनुभयो ।

उपल्लो मुस्ताङका लो–घेकर दामोदरकुण्ड तथा लोमान्थाङ गाउँपालिका क्षेत्रमा सयौं चौरीहरु मरेको छिरिङले बताउनुभयो । हिमाली क्षेत्रमा रहेका चौरीगोठहरुमा थुप्रिको हिउँमा पुरिएर धेरै चौरीहरु मरेको छिरिङको भनाई छ । ‘उपल्लो मुस्ताङ क्षेत्रमा दर्जनौं पटक हिमपात भएको छ, त्यही हिमपातको थुप्रोमा पुरिएर तथा आहाराको खोजीमा भाग्दा भाग्दै लडेर थुप्रै चौरीहरु मरेका छन्, चौरीपालनलाई मुख्य पेशा मान्दै आएका किसानहरुलाई यतीबेला ठूलो क्षती भएको छ ।’ छिरिङले भन्नुभयो ।
उपल्लो मुस्ताङ क्षेत्रका अधिकांश स्थानीयवासीहरु चिसो छल्नका लागि बेही झरेका कारण सुनसान जस्तै बनेको उक्त क्षेत्रमा कती चौरीहरु मरेका छन् भन्ने बारेमा एकीन तथ्यांक नआएको लोमान्थाङका स्थानीय रामबहादुर गुरुङले बताउनुभयो । ‘म पनि अहिले जिल्ला बाहिर छु, उपल्लो मुस्ताङ क्षेत्रमा जमेको हिउँ अझै १५ दिनसम्म पग्लने छाट देखिएको छैन, अब हिउँ पग्ल्यो भने कति क्षती भयो भन्ने बारेमा एकीन तथ्यांक आउँन सक्छ ।’ गुरुङले भन्नुभयो ।
लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष पेमा डोल्मा विष्टले एउटा चौरीलाई एक लाख २० हजार रुपियाँ भन्दा बढी पर्ने भएकाले एउटै किसानको थुप्रै चौरी मरेकाले स्थानीय किसानलाई ठूलो नोक्सानी भएको बताउनुभयो । भारी हिमपातका कारण धेरै चौरीहरु मरेको जानकारी प्राप्त भएकाले के–कती क्षती भएको छ त्यस बारेमा अध्ययन गरेर एकीन गर्न सकिने बताउनुभयो ।
गाउँपालिकाले अहिलेसम्म चौरीपालक किसानहरुलाई के राहत दिन सकिन्छ भनेन बारेमा केही निर्णय नभएकाले केही दिनमा यसका बोमा एकीन गरिने बताउनुभयो । ‘अहिलेपनि हिमपातका कारण उपल्लो मुस्ताङ क्षेत्र सुनसान जस्तै छ, अब केही दिनमा हिउँ पग्लेपछि त्यहाँको जनजीवन सामान्य बन्दै गएपछि आवश्यक छलफल गरेर के गर्न सकिन्छ भन्ने बारेमा निर्णय गछौं ।’ उपाध्यक्ष विष्टले भन्नुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मुस्ताङका प्रमुख तुलसी दाहालले उपल्लो मुस्ताङमा हिमपातले धेरै क्षती पुराएको बताउनुभयो । ‘एक्यापले बन्यजन्तुको आक्रमणबाट क्षती भएका किसानलाई क्षतीपूर्ति दिने प्रावधानअनुसार हिमचितुवा लगायतको आक्रमणबाट क्षती भएकाहरुलाई राहत दिदै आएका छौं, हिमपातका कारण मृत्यु भएकाहरुलाई राहत दिने त्यस्तो कानुनी प्रावधान नरहेपनि स्थानीय गाउँपालिकासँगको सहकार्यमा किसानहरुलाई कसरी राहत उपलब्ध गराउँन सकिन्छ भन्ने बारेमा छलफल गछौं ।’ दाहालले भन्नुभयो ।