मुस्ताङ । कालिगण्डकी नदीको कटानका कारण जोखिममा परेको मार्फा गाउँ जोगाउन जापान सरकारको सहयोगमा तटबन्ध निर्माण गरिएको छ । गत वर्ष वर्षायाममा कालिगण्डकी नदीमा आएको वहावका कारण नदी आसपासका क्षेत्र जोखिममा परेकाले नदीको कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको हो ।
बाढीका कारण घरपझोङ गाउँपालिका वडा नं. पाँचको ढुम्बा र वडा नम्बर दुईको मार्फामा नदी कटान बढ्दै जाँदा खेतीयोग्य जमिन तथा घरहरु समेत जोखिममा पर्न थालेपछि जापान सरकारको सहयोगमा तटबन्ध निर्माण गरिएको घरपझोङ गाउँपालिका वडा नं. दुईका वडा अध्यक्ष मानबहादुर बिकले जानकारी दिनुभयो । नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान गरी क्षती पुराएपछि चिन्तिन बनेका स्थानीयले तत्कालिन समयमा मुस्ताङ भ्रमणमा आएका नेपालका लागि जापानी पूर्व राजदुत मासासी ओवामासँग तटबन्ध निर्माणका बारेमा कुरा राखेपछि जापान सरकारले तटबन्ध निर्माणका लागि बजेट व्यवस्थापन गरेको थियो ।
जापान सरकारले निर्माण गरिदिएको उक्त तटबन्ध स्थानीय उपभोक्तालाई हस्तान्तरण गरिसकेको छ । जापात सरकारले ९२ लाख रुपैयाँ खर्च गरेर तटबन्ध निर्माण गरिदिएपछि मार्फावासी खुसी भएको वडा अध्यक्ष बिकले बताउनुभयो । अध्यक्ष बिकका अनुसार तटबन्ध निर्माणका लागि जापान सरकारकाट ९२ लाख, मार्फा गाउँबाट २० लाख र स्थानीय जनश्रमदान गरी एक करोड १६ लाख रुपियाँको लागत चार सय २० मिटर क्षेत्रमा तटबन्ध निर्माण गरिएको वडा अध्यक्ष बिकले जानकारी दिनुभयो ।
तटबन्ध स्थानीयलाई हस्तान्तरण गर्न मुस्ताङ पुग्नुभएका नेपालका लागि जापानी राजदुत मासामिची साइगोले प्राकृतिक विपत्तिका कारण चिन्तित बनेका स्थानीयलाई सहजता होस भन्ने उद्देश्यले तटबन्ध निर्माणमा सहयोग गरेको बताउनुभएको थियो । राजदुत साइगोले थोरै मात्रामा भएको खेतीयोग्य जमिन समेत नदी कटानका कारण क्षतविक्षत भएको जानकारी पाएपछि जापान सरकारले त्यसलाई निर्माण गर्ने योजना अनुसार बजेट व्यवस्थापन गरेको भन्दै त्यसको संरक्षणका लागि स्थानीय तह तथा स्थानीयवासीलाई आग्रह गर्नुभएको थियो ।
प्रतिनिधिसभाका सांसद प्रेमप्रसाद तुलाचनले जापान र नेपालबीचको सम्बन्ध धेरै पुरानो भएको बताउनुभयो । उहाँले देशका ठूला ठूला आयोजनाहरुमा जापान सरकारको सहयोग रहँदै आएको भन्दै नेपालको समृद्धि र विकासका लागि जापान सरकारले निस्वार्थ सहयोगले मुस्ताङवासीले आफ्नो जमिन जोगाउन सफल भएको बताउनुभयो । स्थानीय विष्णुराज हिराचनले जापान सरकारबाट प्राप्त सहयोगले स्थानीयलाई धेरै सहज भएको बताउनुभयो ।