नेपालसञ्चार पोखरा, असोज १६ गते । पर्यटनको मौसम सुरु हुँदासाथ पोखरा आउने हवाई पर्यटकको चाप बढ्न थालेको छ । हवाई मार्ग भएर पोखरा–काठमाडौं यात्रा गर्नेहरुको संख्या बढ्न थालेपछि हवाइजहाजहरु भरीभराउ भएर उडान गर्ने गरेका छन् । अफ सिजनको बेला दैनिक सात आठ सय यात्रु ओहोर दोहोर गर्ने पोखरा विमानस्थलमा अहिले एक हजार भन्दा बढी यात्रुहरु ओहोरदोहोर गर्ने गरेको पोखरा नागरिक उड्डयन कार्यालयका भोलाप्रसाद गुरागाईले जानकारी दिनुभयो ।
पोखरा विमानस्थल भएर काठमाडौ, भैरहवा, भरतपुर र जोमसोम उडान हुने भएपछि पोखरा विमानस्थल प्राय व्यस्त हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । अहिले एकतर्फी रुपमा पोखरा–काठमाडौंका लागि बुद्ध एयरले १०, यति एयरले १० र सिम्रिंक एयरले २, पोखरा–भरतपुरका लागि बुद्ध एयर र यति एयरले एक–एक, पोखरा–भैरहवाका लागि बुद्धि एयर र यति एयरले एक–एक तथा पोखरा–जोमसोमका लागि तारा एयर र समिट एयरले पाँच–पाँच उडान गरिरहेका छन् ।
अरु समयमा भएका उडानहरु समेत खाली हुने अवस्था आउने गरेपनि पर्यटनको सिजन सुरु भएपछि सबै उडानहरु भरीभराउ हुने र यात्रुहरुले टिकट पाउँनै मुस्किल हुने गरेको छ । अहिले विमानस्थलमा विभिन्न कम्पनीका विमानले पोखरा–काठमाडौं २२, पोखरा–भरतपुर दुई, पोखरा–भैरहवा दुई तथा पोखरा–जोमसोमका लागि १० उडान गरिरहेका छन । अहिले पोखरा विमानस्थलमा दैनिक ३६ वटा एकतर्फी उडान भइरहेका छन् । दुवैतर्फबाट यात्रुहरुको चाप भएकाले पोखरा विमानस्थल ७२ वटक व्यस्त हुने गरेको छ । पर्यटन मौसम सुरु भएसँगै पोखरा–जोमसोममा यात्रुहरुको संख्या बढ्दा तारा एयर र समिट एयरले उडान संख्या बढाएर १५ सम्म पु¥याउँने गरेका छन् ।
विमानस्थलमा १८ सिटे ट्वीनअटरदेखि ६०–७० सिट क्षमताको जहाजहरुले नियमित उडान भरिरहेको उड्डयन कार्यालयले जनाएको छ । यात्रु संख्या बढ्दे गएपछि नियमित दुईतर्फी उडानका लागि निजी कम्पनीहरु प्रतिस्पर्धा गरिरहेपनि सरकार मातहतको नेपाल वायु सेवा निगमले नियमित उडान गर्न सकेको छैन । केही महिना अगाडिसम्म पोखरा–काठमाडौका लागि दुई उडान गर्दै आएको वायुसेवा निगमले पाइलटको अभाव भन्दै उडान रोकेको छ ।