काठमाडौं, २४ मंसिर ।
भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो ।
मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।
खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र नेपालले २-१ को जितसँगै स्वर्ण जितेको छ ।
फुटबलमा नेपालको यो कीर्तिमानी स्वर्ण हो । लगातार दुई संस्करणमा साग फुटबलमा स्वर्ण जित्ने देशको सूचीमा भारत र पाकिस्तानसँगै नेपाल पनि आएको छ । साथै साग फुटबलमा पाकिस्तान बनाएको चार स्वर्णको रेकर्ड भेट्टाएको छ ।
नेपालले पछिल्लो पटकसन् २०१६ मा भारतमा भएको १२औं सागमा घरेलु टोलीलाई पराजित गर्दै स्वर्ण जितेको थियो । यस्तै सन् १९९४ को पहिलो संस्करणमै फुटबलको स्वर्ण जितेको नेपालले १९९३ मा छैटौ संस्करणमा पनि स्वर्ण जितेको थियो ।
