काठमाडौं । कोरोनाभाइरसका कारण लागु गरिएको लकडाउनको अवधिमा गत चैत्र ११ गतेयता यस्तै प्रकृतिका झण्डै १९० वटा साइबर अपराधसम्बन्धी उजुरी परेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ।
तीमध्ये १८० भन्दा बढी फेसबुकसँग सम्बन्धित रहेको र उक्त सङ्ख्या विगत महिनाहरूको तुलनामा झण्डै दोबर रहेको बताइएको छ।
ब्यूरोका अनुसार तीमध्ये केहीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत रहेर कारबाही गरिएको छ।
साइबर ब्यूरोका निर्देशक वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालका अनुसार प्राप्त उजुरीमध्ये अधिकांश सामाजिक सञ्जालको दुरुपयोग र चरित्रहत्यासँग सम्बन्धित छन्।
उनका अनुसार लकडाउनका अवधिमा फेसबुक, युट्यूब, ट्विटर, भाइबर, इमो, लगायतबाट धम्की दिने, गालीबेइज्जती गर्ने, अश्लील वा अन्य तस्बिर जोडेर चरित्रहत्या गर्ने जस्ता आपराधिक क्रियाकलाप बढेका हुन्।