पोखरा, बैशाख २७ गते । हिमालपारीको जिल्ला मुस्ताङमा नेपाल टेलिकमले अप्टिकल फाइवरमा आधारित ‘फाइवर टु द होम’ सेवा सुरु गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन गरिएको लकडाउँनकै अवधीमा नेपाल टेलिकम दुरसञ्चार कार्यालय बागलुङको प्राविधिक टोलीले जोमसोम पुगेर काम थालेको थियो ।
मुस्ताङको जोमसोम बजार र ठिनी गाउँमा रहेको झण्डै नौ किलोमिटर दुरीमा फाइवर विस्तार गरेर सेवा सुरु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिनुभयो । मुस्ताङको जोमसोम र ठिनी क्षेत्र पर्यटकीय स्थल रहेको र यस क्षेत्रमा उच्च गतिको इन्टरनेटको माग अत्याधिक भएकाले सेवा सुरु गरिएको शर्माको भनाई छ ।
अहिले मुख्य लाइन विस्तारको काम सकेर परीक्षण समेत गरिएको र अबको केही दिनभित्रै सबै ग्राहकका लागि डिभाइस र लाइन वितरणको काम सुरु गरिने शर्माले बताउनुभयो । ‘हामीले सबै काम सम्पन्न गरेका छौं, अब डिभाइस सम्बन्धी उपभोक्ताको घरघरमा पु¥याउँन बाँकी छ, डिभाइस पुराएपछि सबैको घरमा उच्च गतिको इन्टरनेट चल्नेछ ।’ शर्माले भन्नुभयो ।